२०७८ साल माघ ६ गते बिहिबार

पूर्वाञ्चल युनाइटेड क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा

शंकर खत्री २८ पुस २०७८, बुधबार ०८:१९ मा प्रकाशित
इटहरी । पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचा प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा दुहबी स्पोर्टस एकेडेमी माथी २–१ गोल अन्तरको जित निकाल्दै पूर्वाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

पुर्वाञ्चल युनाइटेडको जितमा अभिषेक कालिकोटे एक्लैले दुई गोल गरे । उनले खेलको ७ औ र ५२ औं मिनेटमा गोल गरेका हुन । दुहबी स्पोर्टस एकेडेमीको तर्फबाट हर्षित चौधरीले ५५ औं मिनेटमा १ गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । आजको खेलको म्यान अफ द म्याच दुइ गोल गर्न सफल पूर्वाञ्चलका अभिषेक कालिकोटे घोषित हुदै नगद २ हजार रुपैया पाए । 

भोली बिहिबारको अन्तिम क्वाटरफाइनल खेल इटहरी फुटबल क्लब र आयोजक मेमोरी युवा क्लब बिच हुने आयोजकले जनाएको छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरंगका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैया पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए ।