इटहरीका किरण सिवाले जिते राष्ट्रिय कविता प्रतियोगिताको उपाधि

न्युजलय ३ जेठ २०८१, बिहिबार ०९:१८ मा प्रकाशित

खोटाङ ।  नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि इटहरीका कवि किरण सिवाले जितेका छन् । 


‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार आयोजित प्रतियोगितामा सहभागि १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीसहित उपाधि जितेको हो । 


आयोजकसँग दर्ता भएका कवितामध्ये छनोटमा परेका १६ वटा कविता प्रत्यक्ष वाचन गराइएको थियो । प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ दोस्रो, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ तेस्रो, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो तथा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविताले पाँचौँ स्थान हात पारेको छ। बाँकी विजेताहरुलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।


प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती लगायतले नगद तथा पुरस्कार प्रदान गरेका हुन् । 


कार्यक्रम उद्घाटनको अवसरमा वरिष्ठ कवि तथा साहित्यकार जसराज किरातीलाई रु ११ हजार १११ नगदसहित सम्मान गरिएको थियो ।