६ महिनामा साढे चार हजार सडक बत्ती जडान

न्युजलय ४ पुस २०८१, बिहिबार ०५:०६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा ६ महिनामा साढे चार हजार सडक बत्ती जडान गरिएको छ । उज्यालो अभियान अन्तर्गत विभिन्न गाउँ बस्तीमा साढे चार हजार सडक बत्ती जडान गरिएको हो ।


गत असारमा इटहरी १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ । स्वचालित सडक बत्ती जडान कार्य गरिएपछि इटहरीमा चोरीका घटनामा कमी आएकोसमेत दाबी गरिएको छ ।


सडक बत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधिका रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । मुख्य राजमार्गहरूमा एक सय वाटको र भित्री सडकहरूमा ५० वाटको बत्ती जडान गरिएको उनले बताए ।


इटहरीको जङ्गल आसपास हात्ती आतङ्कबाट हुने क्षति कम गर्न, सहरमा चोरी बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने हिसाबले पनि पोलैपिच्छे बत्ती जडानको काम भएको उनको भनाइ छ ।


उपमहानगरपालिकाको विद्युत् शाखा प्रमुख उमेश चौधरीका अनुसार वडाबाट माग भएअनुसार बत्ती वितरण गरिएको छ । चौधरीकाअनुसार वडा १, २, ३, ४, ५ मा क्रमशः २४९, ३५०, २४५, ३०६ र २१९ वटा बत्ती जडान गरिएको छ ।


यसैगरी वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा क्रमशः ५०, २४९, २८०, २३०, १४५, १४३, १००, १६४, १२६ र ११३ वटा बत्ती जडान गरिएको छ ।


यसैगरी वडा नं. १६, १७, १८, १९ र २० मा क्रमशः २५०, २५०, १८२, २४३ र २६९ वटा बत्ती जडान गरिएको उपमहानगरको तथ्यांकमा उल्लेख छ ।


विराटनगरको केडिया कन्स्ट्रक्सन हाउस नामक कम्पनीसँग एक करोड ३३ लाख रुपैयाँमा बत्ती खरिद गरेको उपमहानगरको तथ्यांकमा उल्लेख छ । बत्ती बिग्रिएको ठाउँमा जडान र मर्मतको काम समेत केडिया कन्स्ट्रक्सन कम्पनीले नै गर्दै आइरहेको चौधरीले बताए ।