इटहरी l इटहरीस्थित विश्व आदर्श एकेडेमीका विद्यार्थीहरूले विज्ञान सम्बन्धी सामग्री निर्माण गरी प्रदर्शन गरेका छन् ।
प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाको सहयोगमा विद्यार्थीहरूले उक्त सामग्री प्रदर्शन गरेका हुन् ।
कारखानाअन्तर्गतका क्रियाकलापले विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार सक्रिय हुने र आफै गरेर सिक्ने भएकाले विद्यार्थीलाई सहभागी गराई कार्यक्रम आयोजना गरिएको शिक्षिका सोनु कुमारी बस्नेतले जानकारी दिनुभयो ।
आइतबार विद्यालयको प्राङ्गणमा आयोजित विश्व आदर्श एकेडेमी कारखाना कलेक्सन कार्यक्रममा कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो अभिभावकहरूको उपस्थितिमा चित्रकलादेखि विद्युतीय उपकरण सम्मका सामग्री प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरूले अभिभावकलाई स्वागत गर्दै आफूले निर्माण गरेका वस्तुहरूका बारेमा जानकारी गराएका थिए ।
आफ्ना साना साना छोराछोरीहरुले प्रदर्शनी गरेको देखेर अविभावकहरु दंग परेका छन् । किताबी ज्ञान साथै विभिन्न प्रयोगात्मक क्रियाकलापले अध्ययन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनुका साथै चेतनाको स्तर अभिवृद्धि गर्न सक्ने अभिभावकहरू बताउँछन् । सबै विद्यालयमा विज्ञान र प्रविधि सम्बन्धी कार्यशालाहरू सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
विश्व आदर्श एकेडेमीले विद्यार्थीहरुको शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको छ । जसका कारण विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति उत्पादनमा सहयोग मिल्ने एकेडेमीका प्राचार्य गणेश दुलाल बताउँछन् । एकेडेमीले विगत केही वर्षयता शिक्षाका साथै गायन, नृत्य, खेलकुद, विज्ञान प्रदर्शनी जस्ता प्रतिष्पर्धाहरुमा उत्कृष्ठ स्थान हाँसिल गरिरहेको छ ।