सशस्त्र प्रहरीद्वारा धरानमा १९० किलो गाँजा बरामद

न्युजलय २ पुस २०८१, मङ्गलबार ०३:१२ मा प्रकाशित

धरान । सशस्त्र प्रहरी बल नेपालले धरानमा १९० किलो गाँजा बरामद गरेको छ । 

धरान उपमहानगरपालिका–१३ शिवधारास्थितबाट मंगलबार दिउँसो करिब १९० किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।​

भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरी ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश धरानले बरामद गरेको हो । 

कारलाई जाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा, कार, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।