विश्वआदर्शले प्रकाशित गर्यो जर्नल जोभाक

न्युजलय १५ मङ्सिर २०८१, शनिवार ०९:१३ मा प्रकाशित

इटहरी । इटहरीस्थित विश्वआदर्श एकेडेमीले एकेडेमीक जर्नल प्रकाशन गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा जोभाक नामक जर्नलको विमोचन गरेको हो । 

पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, सेडाका कार्यकारी निर्देशक प्रा डा. अर्जुन बराल, क्युएए एसेसमेन्ट कमिटिका टिम लिडर प्रा. डा. प्रदिपचन्द्र गौतम, नारायण भण्डारी, क्षेत्रीय परिक्षा नियन्त्रक डा. डिल्ली प्रसाईलगायतले जर्नल विमोचन गरेका हुन् । 

विमोचन कार्यक्रममा इटहरीका विभिन्न कलेजका प्राचार्यहरु, इटहरीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । जर्नलको लागि लेख लेख्नेहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै विश्वआदर्श कलेजले क्युएए सर्टिफिकेसनको लागि प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । गौतम र भण्डारीसहितको टिम कलेजको निरीक्षणका लागि आएको छ । टिमले विभिन्न ८ विधामा १२० सुचकहरुमा निर्धारित मापदण्ड पुगे, नपुगेको अनुगमन गरिरहेको छ । 

क्युएएलाई कलेजहरुको स्तरीकरणको मापदण्ड मानिएको छ । विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणित गर्ने गर्छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले यसअघि नै क्युएए पाइसकेका छन् भने कोशी प्रदेशमा आधा दर्जन हाराहारी क्याम्पसहरूले मापदण्ड पुरा गरेका छन् । 

तीन हजार दुई सय बढी विद्यार्थी पढ्ने विश्वआदर्श एकेडेमीमा अहिले त्रि. वि. वि. का बीबीएस, बीसीए र एमबीएसका कक्षाहरु सञ्चालन गरिरहेको छ । स्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विश्वआदर्श कलेजले आफ्नो पहिचान स्थापित गरेको छ । कार्यक्रममा कलेजका प्रचार्य गणेश दुलाल र अध्यक्ष लेखनाथ घिमिरेले बोलेका थिए भने एसएसआर विकास निर्देशक गुणराज नेपालले रिपोर्ट प्रस्तुत गरेका थिए ।