चाहनाले चुलिएको सफलता : रोजगारी देखि रोजगारदाता

ज्योति पोख्रेल ९ असार २०७९, बिहिबार ०७:३२ मा प्रकाशित

भनिन्छ, संघर्ष सफलताको प्रतीक हो र संघर्षको निरन्तरता सफलता हो । यस्तै संघर्ष गरेर अगाडि बढिरहेकी एक व्यक्तित्व जो आफ्नो चाहनालाई निरन्तरता दिएरै आज यहाँ सम्म आउन सफल परिचित नाम हो, गायत्री कट्वाल भण्डारी ।


२०४७ सालमा २५ हजारको लगानीबाट व्यवसाय सुरु गरेकी भण्डारी आज करिब ३० जनाको रोजगार दाता छिन् । इटहरी उपमहानगर पालिका ६ पूर्वलाइन स्थित रहेको जिफो कलेक्सन सपिङ्गको लागि सबैको रोजाइमा पर्दछ । सोही कलेक्सनको सञ्चालक हुन् गायत्री भण्डारी । 


भण्डारीले व्यवसाय सुरु गरेको तीन वर्ष पछि २०५० सालमा इटहरी उद्योग बाणिज्य संघको स्थापना भयो । संघको स्थापना भन्दा तीन वर्ष अगाडी देखि व्यवसाय सुरु गरेको उनले सुनाइन् । 


भण्डारीको चार पुस्ताकै व्यवसायिक थलो बनेको छ इटहरी । ‘हजुरबुबा पनि यहि रहेर व्यवसाय गर्नु हुन्थ्यो, बुबाले पनि २०२८ साल देखि व्यवसाय सुरु गर्नुभयो घरको म पहिलो सन्तान मेरो जन्म पछि गायत्री फेन्सी स्टोर नामले बुबाले व्यवसाय गर्नुभयो, बाल्यकाल यहि क्षेत्रमा बित्यो ।’ भण्डारीले भनिन्, ‘अहिले जेठो छोरोलाई पनि आफू नजिकै रहेर व्यवसायमा प्रेरित गरेकी छु ।’


व्यवसाय प्रती बुबाको लगाव र आफ्नो बाल्यकालको पृष्ठभुमि नै व्यवसाय भएको कारण आफुले पनि यसैमा केही गर्नु पर्छ भन्ने लागेको उनको भनाइ छ । 


उद्योग बाणिज्य संघ इटहरीको कोषाध्यक्ष रहेका उनले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् । जसरी संघले आफ्नै भवन निर्माण गरेर पहिचान कायम गरेको छ त्यसै गरि आफू संघको पहिलो महिला नेत्री भएर पहिचान कायम गर्ने उनले बताइन् ।


विगत देखि नै उनी लाइन्स क्लब अफ इटहरी, जेसिस लगायतको संस्थामा रहेर समाजिक कार्यमा सक्रिय छन् । उनले इटहरी रेडिमेट व्यवसायी संघको संस्थापक अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् । 


जो भोका छन् उनीहरुलाई खाना दिनु पर्छ, जो नाङ्गा छन् उनीहरुलाई लाउन दिनु पर्छ भन्ने उनको आत्मसन्तुष्टिको कुरा हो । कुनैपनी राजनीति पार्टीको बिचारप्रती आस्था रहेपनी पार्टीमा लागेर राजनीति गर्नु चाहाना भन्दा फरक रहेको उनी बताउँछन् ।


पारिवारिक पृष्ठभुमि नै व्यवसाय क्षेत्र भएकाले उद्योग बाणिज्य संघको पदाधिकारी रहेर थोरै लगानीमा व्यवसाय सुरु गरेका हरुलाई प्रेरणा दिनु पर्छ भन्ने उनको मान्यता छ । उनी भन्छन्, ‘म जस्तै सानो लगानीमा व्यवसाय सुरु गरेका व्यवसायीहरुलाई सफल हुनको लागि प्रेरणा दिने, तालिम प्रदान गर्ने काम गरेर आत्मसन्तुष्टि लिने सोचमा छु, हेरौं समयले कहाँ पुर्याउँछ ।’


उनले भनिन्, ‘आफू इटहरीको छोरी चेली र व्यवसायिक क्षेत्रमा हुर्किएको हुँदा त्यस क्षेत्रमा गरेको लगानी र उद्योग बाणिज्य संघमा रहेर काम गरेको अनुभव सम्झिदा अझै केही काम गर्नु पर्छ भन्ने लागेको छ ।’