काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ ।
स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ ।
यसअघि बीमितले पहिलोपटक स्वास्थ्य बीमा सेवा सुरु गर्दा अनिवार्य रूपमा आफूले बीमा गरेको स्थानकै ‘प्रथम सेवा बिन्दु’मा जानुपर्थ्यो । तर अब स्वास्थ्य बीमा प्रणालीलाई थप लचिलो बनाउँदै उक्त बाध्यता हटाइएको हो ।
तर प्रथम सेवा लिनका लागि भने सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्छ ।
बीमा अवधि भरिमा देशभरि जहाँ भए पनि नजिकको अनुमतिप्राप्त सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाबाटै सेवा लिन सकिनेछ ।
सो निर्णयलाई कार्यान्वयनमा लैजाँदै बिहीबार स्वास्थ्य बीमा बोर्डले सार्वजनिक सूचना जारी गरेको हो ।