इटहरी । सप्तकोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्युसेक पुगेको छ ।
पानीको बहाव बढ्दो रहेको छ ।
यसअघि नै भारतको बिहारस्थित जल संसाधन विभागले पानीको बहाव ७ लाख क्युसेक सम्म पुग्न सक्ने भन्दै बिहारमा हाई अलर्ट जारी गरेको थियो । कोशीको बाढीले बिहारमा धेरै क्षती गर्ने गरेको छ ।
पानीको बहाव बढेपछि ५६ ढोका खोलिएको छ भने बाढीले ब्यारेज नाघेको छ । ब्यारेज नाघेर पानी बगेको यो पहिलो पटक हो । दिउँसोदेखि नै ब्यारेजमा सवारी आवतजावत बन्द गरिएको छ ।
पानी ओभरफ्लो भएर कोशी किनारमा रहेको श्रीलंका टप्पु स्थित वस्तीमा पसेको छ भने पश्चिम सप्तरी तर्फको तटबन्धमा सिपेज भएको स्थानीय पत्रकार अवधेश झाले जानकारी दिएका छन् । सीपेज भएपछि कमजोर भएर बांध भत्किने खतरा हुन्छ ।
गत २०६५ भदौ २ गते ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किएर सुनसरीका तीस हजार बढी घर परिवार विस्थापित भएका थिए। विस्थापित भएकाहरुको लामो समयसम्म पुनर्वास र राहत वितरण हुन सकेको थिएन।विस्थापितहरूलाई पुनर्स्थापित गर्न नै १० वर्ष लागेको थियो । उक्त समयमा तटबन्ध भत्किँदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो ।
कोशी ब्यारेज ले ९ लाख क्युसेक पानीको बहाव धान्न सक्ने भनिएपनि वालुवा थुप्रेको र व्यारेजको आयु ६० वर्ष भन्दा पुरानो भएकाले पनि ६ लाख क्युसेक वहाबलाई निकै जोखिमपूर्ण मानिएको छ ।