इटहरी । सुनसरीको इटहरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । अन्दाजी ५४ वर्षीय स्थानीय गोपाल रिजालको मृत्यु भएको हो ।
इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको खनार प्रहरीले जानकारी दिएको छ ।
टाउकोमा गम्भीर चोट लागेका रिजालको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा हिजो साँझ ६ बजेतिर मृत्यु भएको बताइएको छ । घाइते तीन जनाको उपचार भइरहेको छ ।
स्कुटर पछाडि सवार ३३ वर्षीया बबिता रिजाल, मोटरसाइकल चालक कोसी गाउँपालिका ८ बस्ने आशिक आलम र पछाडी सवार इटहरी १४ बस्ने विनिता पाठक घाइते भएका छन् । रिजालको स्थानीय मेडिकलमा र अन्य दुई जनाको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।