देशलाई खोज्दै जाँदा इतिहासमा
वीर–वीरङ्गनाको चिहानमाथि
आफूलाई उभिएको पाएँ ।
मेरो कलमका डोबहरूलाई पछ्याउँदै जाँदा
देशको निम्ति मर्ने र मर्न चाहनेको सामु
उसले आफूलाई सुम्पेको पाएँ ।
यी हरफहरु हुन् इटहरीका साहित्यकार स्व. शेरबहादुर भुजेल (अम्बर) को ।
उनका बुवा टेलिफोनको लाइनम्यान थिए । टेलिफोनलाई इटहरीमा ल्याउने क्रममा उनैले प्राविधिक काम गरेका थिए । अनि उनी चाहिँ शिक्षक अनि समाजलाई असल बाटोमा डोर्याउनुपर्छ भन्ने राजनीतिक, सामाजिक चेत भएका साहित्यकार ।
आजको इटहरीको नयाँ पुस्ताले शेरबहादुरलाई चिन्दैन । तर उनले इटहरीको समाजको लागि गरेको संघर्ष अनि साहित्य सृजना त्यतीबेलाका साहित्यकार, सामाजिक व्यक्तित्वहरुको मानसपटलमा अझै छ ।
सानैदेखि विद्रोही, हक्की स्वभावका शेरबहादुर विद्यालयअवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय भए । सुस्ता विरोधी सङ्घर्षका क्रममा पटक पटक थुनामा परे ।
उनी विज्ञानका विद्यार्थी थिए । बायोलोजीमा उनले बी.एस्सी. गरेका थिए । इटहरीको जनता स्कुलमा पढाउँथे । ३६ सालतिर उनलाई विद्यालयमा राजनीति गरेको आरोप लगाएर बर्खास्त गरिएको थियो । पछि पुनर्वहाली भए ।
दृढ विचार, निडर स्वभाव र साहसी भएका कारण उनी बोल्न र लेख्न, अन्याय, अत्याचार र पक्षपातको बिरोध गर्न पछि पर्दैनथे । त्यही भएर उनलाई काबुमा राख्न तत्कालीन पन्चहरुले पिटाए तर उनी दबेनन् । उनी आफ्नो निरिहता कमीकमजोरी देखाएर कोहीसँग पनि याचना गर्दैन थिए ।
सो क्रममा उनले गर्ने साहित्य सृजनाले मानिसहरुलाई उत्प्रेरित गथ्र्यो । उनी आफ्नो साहित्य सृजनामार्फत् आगो ओकल्थे । उनको लेखन क्षमताका कारण इटहरीका तात्कालिन प्रधानपञ्च प्रेमबहादुर कार्कीले उनको एउटा कविता संग्रह देशलाई खोज्दा छाप्नलाई आर्थिक सहयोग गरेका थिए । यो
इटहरीका कम्युनिष्ट अगुवा कार्की
त्यसो त पुर्वप्रधानपञ्च कार्की आफै पनि साहित्य चेत भएका कम्युनिष्ट अगुवा थिए । उनी उपप्रधानपञ्च हुँदै इटहरी गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए । पछि उनी पञ्चायतविरोधी अभियानमा लागे । उनी सुनसरीदेखि पुर्वी नेपालका विभिन्न ठाउँमा पुग्थे । सो क्रममा उनी पटक पटक पक्राउ परेका थिए । कम्युनिष्ट नेता मनमोहन अधिकारीलगायत इटहरी आउँदा उनैकोमा बस्थे । इटहरीको विराटनगर लाइनस्थित उनको काठे घर कम्युनिष्ट नेता, कार्यकर्ताको चौतारी थियो ।
२०१८ सालमा प्रेमबहादुर कार्कीको अध्यक्षतामा लेनिन शतवार्षिकी साहित्यिक कार्यक्रम भएको थियो । पञ्चायती व्यवस्थाविरुद्ध अभियानहरुमा हिड्दा हिड्दै उनी नेकपा पूर्व कोशी कमिटिमा आबद्ध भएका थिए ।
नेकपा पूर्वमाक्र्सवादीको तर्फबाट बहुदलीय प्रचार समिति २०३६ गठन गरी बहुदलको प्रचारमा अभियान सुरm गरिएको थियो । प्रेमबहादुर कार्कीको अध्यक्षतामा गठित कमिटीमा सचिव रमेशकुमार विष्ट, सदस्यहरूमा प्रमोदकुमार श्रेष्ठ, शेरबहादुर अम्बर आदि थिए । त्यसैले पनि शेरबहादुर र प्रेमबहादुरबिच घनिष्ठ राजनीतिक साहित्यीक सम्बन्ध थियो ।
उनीसहितको समुहले इटहरीमा धेरै साहित्यिक, राजनीतिक गतिविधि गरेको थियो । राजनीति र साहित्य एक अर्काका परिपुरक झै थियो त्यो बेला । समाजलाई ब्युँझाउन र राजनीतिक परिवर्तनका लागि मानिसहरुलाई प्रेरित गर्न साहित्य, संगीत र नाटक जस्ता कार्यक्रमहरु भइरहन्थे ।
मरणोपरान्त साथीहरुको सम्मान, दोस्रो संस्करण
२०३१ देखि २०३४ सालताका लेखिएका कविताहरूको संग्रह हो देश खोज्दै जाँदा । ३४ सालमा पुस्तक प्रकाशनका क्रममा कार्कीले एक युवकको देशप्रेमको कवितात्मक अभिव्यक्तिलाई सँगालेर जनसमक्ष ल्याउन खोजेको बताएका थिए । कार्कीको निधन २०५७ सालतिर भयो ।
यता अम्बर पनि आन्दोलनका क्रममा प्रहरीले दिएको यातना र विभिन्न समस्याले गर्दा पछि लामो समयसम्म मानसिक रुपमा अस्वस्थ भए । आमा र बुवाको निधन भयो । आर्थिक अवस्था रुग्ण बन्दै गयो । २०७४ मा उनको ६३ वर्षको उमेरमा निधन भयो ।
उनको निधनको ६ वर्षपछि उनका समकालिन साथीहरु रमेशकुमार विष्ट, ऋतुवर्ण पराजुली (ऋतु आशीक), काजीलाल फुँयालले मिलेर उनको उक्त कृतिको दोस्रो संस्करण निकालेका छन् । ३० साल हाराहारीका साहित्य सृजनाहरु अरु धेरैले पढ्न पाएका छन् । आफ्नो समकालिन सर्जक साथीप्रतिको सम्मान र स्नेहको योभन्दा अर्को राम्रो तरिका के हुन सक्ला र ?