मोरंग ट्राफिकविरुद्ध उभियो भन्सार एजेन्ट संघ, अनावश्यक दुःख दिएको आरोप

न्युजलय ११ मङ्सिर २०८१, मङ्गलबार ०५:०७ मा प्रकाशित

विराटनगर । भन्सार काटेर आएका सवारी साधन ओभरलोड भन्दै जरिवाना काटेर दुःख दिएको भन्दै भन्सार एजेन्ट संघले विरोध जनाएको छ । विराटनगर भन्सार एजेन्ट संघले ट्राफिक कार्यालय इटहरीमा यस विषयमा ज्ञापन पत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा ढुवानीका साधनको निर्बाध आवागमनमा सहजीकरण गरिदिन माग गरिएको छ । 


विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्केका गाडिहरुलाई अनावश्यक जरिवाना काट्ने, केहीदिन सम्म सडकमै होल्ड गराउने सम्मका कार्य भइरहेको व्यवशायीहरुको गुनासो छ । एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्माको नेतृत्वमा गएको टोलीले विगतमा गृहमन्त्रालयबाट मिति २०७६।०२।०२ च.नं. २६४६ को पत्रबाट आवागमनमा अवरोध नगर्न गरिएको मन्त्री स्तरिय निर्णय अक्षरस कार्यान्वयन गर्न आग्रह गरेको छ ।


संघका केन्द्रीय सचिव प्रविन जोशी, केन्द्रीय सदस्य दीक्षा पौडेल, जिल्ला सचिव अनिस खनाल, पूर्व केन्द्रीय सदस्य बासु खनाल लगायतको उपस्थितीमा ज्ञापनपत्र दिइएको हो । राज्यका निकायहरुले नै आतंकित बनाउने काम गरे भन्सारबाट हुने सबैखाले कार्यहरु बन्द गर्ने चेतावनी दिए । 


अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुख राजन लम्साल छन् । लम्सालको कार्यशैलीप्रति व्यवशायीहरु असन्तुष्ट छन् ।