भारतमा बन्धक बनाइएका सुनसरीका ५ जनासहित ५७ जनाको उद्धार

न्युजलय १२ असार २०८२, बिहिबार ११:२९ मा प्रकाशित

काठमाडौँ । आकर्षक रोजगारीको आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ ।

भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो।

नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरिएको हो।

उद्धार गरिएकाहरुलाई विहीबार आ–आफ्नो घर फिर्ता गराइनेछ ।

भारत पुगेका यी युवाहरूलाई विभिन्न ठाउँमा महिनौँसम्म बन्धक बनाएर अमानवीय व्यवहार गरिएको थियो। उद्धार गरिएकाहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४–४ जना, दाङ, स्याङ्जा, बाँकेका ३–३ जना, डोटी, ताप्लेजुङ, धादिङका २–२ जना, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम, रुपन्देहीका १–१ जना छन् ।

गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो ।