इटहरी । नेपाल सुटिङबल संघले इटहरीमा नेपालमै पहिलो पटक एशियन सुटिङबल च्याम्पियनसिप गर्ने भएको छ । माघ १७, १८ र १९ गते तीन दिन इटहरीमा यो खेलको प्रतियोगिता गर्न लागिएको एसियन सुटिङ बल फेडरेसनका अध्यक्ष केशवकुमार विष्टले जानकारी दिए ।
गत वर्ष सन् २०२४ मा सुटिङबल वर्ल्ड कपमा नेपालको महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गरेकोमा सम्मानस्वरूप यो पटक नेपाललाई प्रतियोगिता आयोजना गर्न दिएको उनले जानकारी दिए ।
प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष गरी दुई सय जना खेलाडीको सहभागिता रहनेछ । ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको समेत उपस्थिति रहनेछ। आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा ए र बी गरी चार टोलीलाई प्रतिष्पर्धा गराउनेछ।
इटहरीस्थित कस्तूरी एकेडेमीको खेल मैदानमा हुने च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले गर्नेछन् । त्यसको अघिल्लो दिन प्रतियोगिताको स्वागत तथा झण्डोत्तोलन कार्यक्रम साँझ इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा हुनेछ । समापन तथा पुरस्कार वितरण भने माघ १९ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने छ ।
खेलकुदसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने एशियन सुटिङ वल फेडरेसनका महासचिव जिचेन्द्र तोमारले जानकारी दिए । उनका अनुसार यो च्याम्पियनसिप कोशी प्रदेश तथा इटहरीको खेलकुद विकासका लागि ऐतिहासिक अवसर हो ।