धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरेमा श्रीमान्–श्रीमतीको मृत्युपछि तीन छोरी अभिभावकविहीन बनेका छन्।
वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कुवेत पुगेका ४३ वर्षीय डम्बर मगरको करिब १० दिनअघि विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको थियो भने श्रीमान्को निधनको खबरले आघात पुगेकी ३४ वर्षीया विद्या मगरको तीन दिनमै निधन भयो।
यससँगै उनीहरूको तीन छोरी—१७ वर्षीया विपना, १६ वर्षीया सञ्जु र दुई वर्षीया संयुक्त विचल्लीमा परेका छन्।
जेठी र माइली धनकुटा नगरपालिका–५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी संयुक्त आमाबाबुको मायाबाट वञ्चित हुँदै जीवन सुरु गर्न बाध्य छिन्। अहिले जेठी र माइली किरियापुत्री बसेका छन् भने डम्बरको शव अझै कुवेतमै छ।
दम्पत्तिको असामयिक निधनले पूरै वडा शोकमा डुबेको वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । छोरीहरूको लालनपालनका लागि स्थानीय स्तरमा सहयोग संकलन अभियान सुरु भएको र बैंक खाता खोलेर व्यवस्थापन गर्न पहल भइरहेको उनले बताए।