सुनसरीका रंगकर्मी तथा पत्रकार देवानलाई राष्ट्रिय प्रज्ञा पुरस्कार

न्युजलय १३ असार २०८१, बिहिबार ०१:३५ मा प्रकाशित

काठमाडौ । सुनसरीका अग्रज पत्रकार, रंगकर्मी तथा साहित्यकार गोपाल देवानले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पाएका छन् । शीतल निवासमा बुधबार भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कार पाएका हुन् । 


सुनसरीलाई आधार बनाएर देवान लामो समयदेखि साहित्यर नाटक तथा पत्रकारितामा सक्रिय छन् । देवानले लेखेको दमनको राप नामक नाटक निकै लोकप्रिय छ । सुनसरीका अग्रज पत्रकार राजकुमार कार्कीको अनुभुतीको आधारमा देवानले लेखेको नाटकलाई २०५२ सालमा विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो ।


पछिल्लो समय कलाकार तथा रंगकर्मी विक्रम श्रिले निर्देशन गरेर इटहरी मेट्रीक्समा प्रदर्शन गरिएको थियो । यसबाहेक देवानले अन्य धेरै नाटक, साहित्य सृजना गरेका छन् । देवानको सक्रियतामा सामाजिक र राजनीतिक चेतनामुलक नाटकले व्यापकता पाएको थियो ।


देवानसँगै राष्ट्रपति पौडेलले नाटककार तारा थापा, रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र के.सी.लाई समेत पुरस्कृत गरेका थिए ।


पुरस्कार प्रदान गरेपछि बोल्दै पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका थिए ।