इटहरी । सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै ६ लाख क्यूसेक पुग्न लागेको छ । पानीको बहाव बढेर सप्तकोशी ब्यारेज माथि पानी ओभरफ्लो भइरहँदा श्रीलंका टप्पुमा झुप्रो घरहरू बनाएर बसिरहेका १० हजार मानिसहरूको अवस्थाप्रति चासो बढेको छ ।
त्यसमाथि अहिले कोशीले पश्चिम बेलका नगरपालिकाको भूभागमा कटान र डुबान हुन थालेको खबर छ । कोशी बीचको टप्पु भित्रको भूभाग कटान तिब्र हुँदा त्यहाका हजारौं मानिस जोखिममा छन् ।
पानी 'ओभरफ्लो' भएर बस्तीतर्फ पसेको छ। यो ठाउँ बेलकाको डुम्रीबोटेभन्दा दक्षिणको समतल क्षेत्रबाट पश्चिमतिर पानी पसेको हो।
दुई वर्षअघि पनि त्यही ठाउँबाट पानी बस्तीतिर सोझिएको थियो । कटान गरे पनि बाढी भने आएको थिएन । यो पटक पानीको फ्लो अत्याधिक हुँदा बाढी आएको हो ।
नदीको पानी बस्तीतिर सोझिएपछि स्थानीय प्रशासनले बेलका ३ का १२७ जनालाई सुरक्षित स्थानतर्फ लगेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । तर अधिकांशले भने घर छोड्न नमानेको बताइएको छ । घर छोडेर गए चोरी हुने डरले गर्दा घर छोड्न नमानेका हुन् ।
श्रीलंका टप्पुमा सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलकाका वडा पर्छन् । यो कोशी टप्पु अन्तर्गतको जमीन हो । कोशी अनि खेती र पशुपालनमा निर्भर भएर टप्पुको जग्गा ओगटेर बसेका मानिसहरू डुबान र कटानबाट सधै त्रसित हुने गर्छन् । उनीहरूलाई स्थानान्तरण गर्ने बारे छलफल हुने गरे पनि टुंगो लाग्न सकेको छैन ।