१० वर्ष लगाएर बनाइएको फोक्सिङटारको पुल बगायो, २० वर्षमा बनेको घुर्मीको पुल पनि जोखिममा

न्युजलय १२ असोज २०८१, शनिवार ०७:०९ मा प्रकाशित

उदयपुर । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल कोशीले बगाएको छ । गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुल बाढीले बगाएको हो । 


सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल बनाइसक्न १० वर्ष लागेको थियो । पुलको आर्क नै बगाएपछि फेरी पुल बनाउनुपर्ने अवस्था सृजना भएको छ । पुल बगाएको भन्दा पनि पुलको पुनर्निर्माण ढिलो हुनेमा स्थानीयहरु चिन्तित बनेका छन् । 


निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीका कारण उदयपुरको घुर्मी बजार र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुलसमेत जोखिममा परेको छ । कोशीको पानी अहिले उक्त पुलको माथिबाट बगिरहेको छ । यो पुल पनि दुई दशक लगाएर निर्माण सम्पन्न भएको थियो । 


यता मेची राजमार्गअन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलीब्रिज बगाएको छ । गत असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थाई ब्रिज बनाइएको थियो । यो ब्रिज पनि शनिबार बगाएको हो ।


यसैगरी बाढीले फिदिम फालोट सडकखण्ड अन्तर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्की पुलसमेत बगाएको छ । यो पुलले सदरमुकाम फिदिम ११, फिदिम १२, फिदिम १३ र फालेलुङ गाउँपालिकालाई जोडेको थियो ।