२०७८ साल कार्तिक ७ गते अाईतबार

इटहरीमा सडक दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते

न्युजलय २७ असोज २०७८, बुधबार ०८:११ मा प्रकाशित
इटहरी । इटहरीमा ट्रकले कार र सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति ९ः२० बजे इटहरी ५ स्थित पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले कार र सफारीलाई ठक्कर दिँदा एकको मृत्यु भएको हो।

ट्रकले विपरीत दिशाबाट आउदै गरेको प्र१ ०२ २२३ ह १४३६ नं को सिटी सफारलाई ठक्कर दिई भाग्ने क्रममा इटहरी १६ बालग्राममा प्र३ ०१ ०२४ च ९७२२ नं. को कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सफारीमा सवार इहटरी ५ बस्ने २३ वर्षीय ईश्वर राउत रहेका छन् । ट्रकको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा विराट नर्सिङ होममा राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, कारमा सवार सुनसरी रामधुनी ३ बस्ने ३० वर्षीय दीलिप कुमार चौधरी, कार चालक सोही ठाउँका ३० वर्षीय सन्दीप राउत, ३५ वर्षीय नगेन्द्र गुरुङ, रामधुनी ५ बस्ने २४ वर्षीय सौगत अधिकारी, ३५ वर्षीय सुमन मगर घाइते भएका छन् ।

उनीहरूको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, सिटी सफारी चालक झापा दमक ७ बस्ने वर्ष ३४ को हेमन्त बिकको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तीनवटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।