बिर्तामोडमा पाँचतारे होटल सञ्चालनमा ल्याउँदै दुर्गा प्रसाईं

न्युजलय २९ असोज २०७९, शनिवार ०५:११ मा प्रकाशित

काठमाडौं । पूर्वका व्यवसायी दुर्गा प्रसाईँले बिर्तामोडमा पाँच तारे होटल सञ्चालनमा ल्याउन लागेका छन् । साढे ४ अर्ब लगानीमा एट्रियम क्यासिनो होटल सञ्चालनमा ल्याउन लागेका हुन् । ७० प्रतिशत निर्माण कार्य सकिएको क्यासिनोसहितको होटल आगामी वैशाखबाट सञ्चालनमा आउनेछ । 

आन्तरिकसँगै भारतीय पर्यटकलाई लक्षित गर्दै क्यासिनोसहितको पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउन लागेको उनले जानकारी गराए । 

३० किलोमिटर नजिकै रहेको बागडोगरा एयरपोर्ट हुँदै भारतको २७ वटा राज्यसँगै भुटान, बंगलादेश, थाइल्याण्ड लगायतका देशबाट आउने पर्यटकलाई लक्षित गर्दै यो होटल सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।

होटलको आर्किटेक्चरल डिजाइन प्रसिद्ध कम्पनी माथेमा पार्टनर्स (म्याप) ले गरेको छ । आकर्षक आतिथ्यतासहितको सेवा दिनका लागि होटलमा भारतीय व्यवस्थापन ल्याउने तयारी भइरहेको समेत उनले जानकारी दिए। यतिखेर होटलले भारतको चारवटा कम्पनीसँग छलफल सुरु गरेको छ ।

१ सय १५ वटा कोठा रहेको होटलमा पाँचवटा भिल्लासँगै २५ सय जना क्षमताको बैंक्वेट हल, साउना, फिटनेस सेन्टर, स्विमिङ पुल लगायतको सुविधा रहने छ ।

चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको होटलको १० हजार वर्गफिट क्षेत्रफलदमा फुड एण्ड बेभरेज, माइसका लागि २१ हजार वर्गफिट र क्यासिनोका लागि १३ हजार वर्गफिट क्षेत्रफल छुट्याइएको छ । 

यसअघि नै पनि झापामा मेची क्राउन होटल नामक पाँच तारे होटल सञ्चालनमा आइसकेको छ ।