२०७८ साल मङ्सिर १३ गते सोमबार

विराटनगरको आकाशेपुल निर्माणको काम स्थानीयको अवरोधले रोकियो

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०९:२८ मा प्रकाशित
विराटनगर । विराटनगरमा आकाशे पुल निर्माण कार्य रोकिएको छ । आफ्नो घर–जग्गा अगाडी आकाशे पुल नबनाउनु भन्दै स्थानीयले बखेडाका कारण निर्माण कार्य अलपत्र परेको हो ।

विराटनगरको कञ्चनबारी, बरगाछी र वसपार्क नजिकै तीन स्थानमा आकाशे पुल निर्माणका लागि महानगरले शिलान्यास गरेको थियो । गत वैशाखमा ठेक्का लागेर काम समेत सुरु भइसकेको थियो । तर, जनप्रतिनिसमेत रहेका केही स्थानीय जग्गा धनीले नबनाउन दबाब दिएपछि निर्माण कार्य रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

करिब २ करोड ७० लाख रुपैयाँ बजेटमा निर्माण हुने आकाश पुलका लागि विराटनगरको कला विल्डर्सले दुई र आरके विल्डर्सले एउटा ठेक्का पाएका छन् ।

विराटनगर महानगरपालिकाका इन्जीनियर अर्जुन थापाका अनुसार सम्झौता बमोजिम एक वर्षभित्र आकाशे पुल निर्माण सम्पन्न भइसक्नुपर्ने छ । तर, ठेक्का सम्झौता भएको ६ महिनासम्म पनि आकाशे पुल निर्माण कार्यले गति लिन नसकेको हो ।  

कञ्चनबारीमा प्रदेश सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता चुमनारायण तबदारसहितका स्थानीयले आफ्नो घरअघि आकाशे पुल नबनाउ दबाब दिँदै आएका छन् ।

त्यस्तै विराटनगर बसपार्क नजिकै नेपाली कांग्रेस मोरङका सचिव समेत रहेका नागेश कोइरालाले आफ्नो जग्गा अगाडी नबनाउनु भन्दै काम रोक्न लगाएका हुन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाली कांग्रेसबाट निर्वाचित हुन् । तर, उनलाई आकाशे पुल निर्माणमा भने आफ्नै पार्टीका नेताहरुले असहयोग गरेका हुन् ।

कञ्चनबारी र बसपार्क छेउमा कांग्रेस नेताहरुले अवरोध गरेपछि बरगाछीका स्थानीयले पनि घर अगाडि नबनाउनु भन्दै निवेदननै दिएको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आकाशे पुल सबैलाई चाहिएको भएपनि स्थानीयले आफ्नो घर अगाडी नबनाउनु भनेर दबाब दिएको बताए ।

मेयर पराजुलीले उक्त समस्या समाधानका लागि एक÷दुई चरणमा वार्ता समेत भइसकेको र केही दिनमा काम सुरु हुने दावी गरे । उनले स्थानीय सँग जसरी पनि सहमति गरेर निर्माण कार्य अघि बढाइने बताए ।