मौन प्रकृतिको संगीतमय भाषा हो । मौन एक साधना ब्रत हो, मौन चुप हुनु हो । चुप बोली (वाणीबाट मात्र होईन, मनदेखि नै चुप रहनु हो ।) मौन वाणी वा मनको विश्राम हो, मौन साधना हो किनकी मौन भनेको कुनै वस्तुप्रति निरन्तर अभ्यास गर्नु जस्तै हो । जस्तै संगीत साधना वा मन्त्र साधना । निरन्तर अभ्यासले निश्चित सफलतामा पुर्याउँछ । निरन्तर मौन अभ्यासले मनलाई शान्त बनाउँछ जसबाट आफ्नो ऊर्जा स्वयंमा रुपान्तरित हुन्छ, थकान मेटिन्छ, रचानात्मक, सृजनात्मक शक्तिको विकास हुन्छ । ब्रत हो मौन किनकी ब्रत पनि एक किसिमको प्रतिज्ञा हो । जस्तै आइतबार म नुन, तेल, पाकेको अन्न खाँदिन तर मैले ती कुरा नगरेको भए के फरक पर्दथ्यो ? अरु फलफूल र कन्दमूल त खाईन्छ वा आइतबार म अन्न र फलफूल खाँदिनँ हुनसक्छ वा म निराहार बस्छु अथवा (निर, पानी पनि पिउँदिन) । यस किसिमको प्रतिज्ञामा ब्रत बस्छौं । यहाँ आईतबार उदाहरण मात्र हो अरु कुनै बार वा तिथि पनि हुन सक्छ ।
मौन पनि फरक फरक प्रतिज्ञाका साथ बसिन्छ, जस्तै पहिलो हो
१. म दिनमा वा यति दिनसम्म कम बोल्छु वा अत्यावश्यक विषयसँग सम्वनिधत मात्रै बोल्छु । हुन त हामी आफैले बोलेका कुरा ठीक ठान्छौं, तर विचार गरौं त आफूले बोलेका कुराले कस कसलाई हित पुर्यायो वा आफूलाई अथवा देश र समाजलाई के हित गर्यो ? यसरी हेर्दा दिनमा आफूले बोलेका धेरै भाग अनावश्यक हुन्छन् । किनकी बोल्नकालागि मनमा विचार उठ्नु पर्छ अनि त्यो विचारको सानो भागमात्र शब्दका रुपमा आउदछ । त्यस्ता अनावश्यक कुरामा हाम्रो शक्ति त्यसै खेर गई राखेको हुन्छ । यो म निश्चित समयसम्म कम बोल्छु भनि अभ्यास गरिने मौन पहिलो स्तरमा पर्दछ । यस अभ्यासबाट नै अनुभव हुन्छ मन शान्त हुन लागेको ।
२. अब अर्काे मौनको कुरा “चल मौन”
यसमा पनि निश्चित समयकालागि पूर्ण रुपमा म बाणीको बिश्रा मगर्दछु तर इशारा वा लेखेर अत्यावश्यक कुरामा विचारको आदान प्रदान गर्दछु । यो मौनमा साधक दैनिक काममा सम्लग्न भएको पनि हुन सक्दछ । आफूसँग सम्वन्धित व्यक्तिलाई आवश्यक परेमा कुनै माध्यमबाट सल्लाह दिन सक्दछ । यो मौनमा पनि दिनको ठूलो भाग एकान्तमा शान्त भएर बस्नु पर्दछ । जसबाट वाणीका साथै मनले विश्राम पाउँदछ ।
३. अब कुरा गरौं “पूर्ण मूड मौन”
यो मौन अवधिमा साधक पूर्ण मौन हुन्छ जस्तै पञ्च ज्ञानेन्द्रीय, पञ्च कर्मेन्द्रीयलाई निरन्तर आफूमा नै लिन हुने । जसकालागि एकान्त स्थल, कोठासँगै जोडिएको चर्पी वा अरु मानिस आवागमन नहुने स्थल जहा ध्यानबाट उठेको बेला अल्प आहार गरि आफूमा नै केन्द्रित भई शान्त बसेमा शरीर, मन, मस्तिष्कले पूर्ण आराम पाउँछ ।
अब कुरा गरौं किन यस्तो गर्ने ?
कुनै काम गरेपछि थाकिन्छ अनि आराम गरेपछि थकाई मेटिन्छ । थकाई मेटिएपछि पनि बढी जाँगरकासाथ सक्रिय भएर काम गर्न सकिन्छ । जसको परिणाम पनि राम्रो आउँछ । अष्टांग योगको तेस्रो भाग आसन गर्दा हरेक आसन पछि छोटो विश्राम गरिन्छ जसबाट पुन ऊर्जा प्राप्त हुन्छ र फेरी अर्काे आसन गरिन्छ । हामीले बोली फुटेदेखि निरन्तर बोलेकाछौं, कसैले बोलेमा तुरुन्त जवाफ दिन्छौं, कहि बोल्न पाएन भने रिसाउँछौं, यसरी बिश्राम नपाई बोल्दा थोकेको मुख, विचार श्रृजना गर्ने मन र निरन्तर आवाज निकाल्दाको प्राण (पञ्च प्राणमध्ये) मष्तिष्क सबै प्रभावित भई थाक्दछन् ।
यसरी थाकेको मन मष्तिष्कबाट सकारात्मक विचारको विकास हुन सक्दैन । फेरी हाम्रो मनद्धार नै शरीर (अनन्यमय कोष) सञ्चालन भएको हुन्छ । थाकेको मनबाट शरीरलाई दिने सन्देश पनि त दर्विलो हुदैन । फेरी बेठिक सन्देश दिन सक्छ । सानो उदाहरण लिउँ, हामीलाई कुनै कारणबस कसैसँग रिस उठ्यो, रीस त मनमा उठ्यो तर त्यसको असर हाम्रो शरीरका पाँचै ज्ञानेन्द्रिय, कर्मेन्द्रिय र प्राणमा एकै चोटी देखिन्छ जस्तै, रीस उठेनासाथ आँखा राता हुन्छन् अनि कान ताता हुनथाल्छन्, नाकका पोरा फुल्न थाल्छन्, छालाका रौ ठाडा पर्न थाल्छन्, भित्रबाट विभिन्न शब्द निष्किन थाल्दछन्, बस्दै गएका हात पाउ सबै चल्दछन् । हेरौं त मनको प्रभावले कति असर पुग्दछ । बाल्यकालदेखि निरन्तर काम गर्दाको थकान मेटिने उपाय मौन हो । मौन रहनाकालागि सबै भन्दा सरल उपाय धारणाको अभ्यासबाट ध्यान आफै घटित हुन्छ । ध्यान एक अवस्था हो ।
वास्तवमा यो संसारका सबै जसो सफल व्यक्ति जीवनको कुनै न कुनै क्षण मौन रहेको पाईन्छ । मलाई एक जना मान्यजन मित्रले साधनकालागि किन जंगल जानु भएको, घरमै बसेर सम्भव हुदैनथ्यो र ? भन्दै उदाहरण दिनुभयो, राजा जनक, राजा राम, योगेश्वर कृष्ण दरबारमा नै बसेर चैतन्य प्राप्त गर्नु भएको थियो, त्यसबेला मसँग उपयुक्त समय थिएन त्यसैले छोटो समयका कारण मैले सबै ब्यक्ति समान हुँदैनन्, म राजा राम वा जनकसँग आफलार्ई तुलना गर्न सक्दिनँ भनि उत्तर दिएकी थिएँ तर उहाँलगायत यो विचारसँग मेल खाने मित्रहरुलाई के भन्न चाहन्छु भने उहाँहरु सबै जीवनको लामो हिस्सा गुरुकुलमा अरु गुरु शिष्यहरु सरह जंगलमा रहेर शिक्षा आर्जन गर्नु भएको थियो जसमा मौन साधना अनिवार्य गराईन्थ्यो ।
समग्रमा हेर्दा मौन साधना आजको विश्वमा एक अपरिहार्य हो जसद्धारा बाणी सरल साथै नियन्त्रित र मन शान्त हुन्छ । थकानबाट आराममा परिणत, भित्री मनदेखि नै होस पूर्ण रहने क्षमताको विकास, अलौंकिक अनुभव हुन्छ । सकारात्मक सोंचको विकास हुनकासाथै मानसिक ऊर्जा प्राप्त हुन्छ । आत्मज्ञान पाउन सहज हुन्छ । मौन साधनाबाट वर्तमानमा जीउनेकला सिकिन्छ । जो वर्तमानमा बाच्दछ ऊ सदा खुसी रहन्छ । विचार गरौं त हामी बालक हुँदा वा हालका बालबालिका सगै खेल्दछन्, एक आपसमा लडाई गर्दछन्, रुन्छन् तर फेरी तर आँसु नसुक्दै सँगै खेल्दछन् । तर हामी आफूलाई हेरौं, त १० वर्ष अगाडि रिस उठाएको व्यक्तिलाई भेट्दा आज पनि रिस उठ्छ । वक्तृत्वकला विषयवस्तुलाई आकर्षीत रुपमा मिलाएर प्रस्तुत गर्ने विधि हो मौन साधना । मौन साधनाले व्यक्तित्वकलामा सहज, सलल र आकर्षक बनाउन मद्दत गर्दछ ।
- रेनु शर्मा