२०७८ साल माघ ६ गते बिहिबार

एमाले सुनसरी अध्यक्षमा भण्डारी निर्वाचित

न्युजलय २९ पुस २०७८, बिहिबार ०७:३० मा प्रकाशित

इटहरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवती भण्डारी निर्वाचित भएका छन् । पुर्व जिल्ला अध्यक्षसमेत रहेका भण्डारीले निकटतम प्रतिद्वन्दी खेमराज पोख्रेललाई एक सय बढी मतको मतान्तरमा पराजित गरेका हुन् । भण्डारीले ९२० मत ल्याएका छन् भने पोख्रेलले ७७५ मत मात्र प्राप्त गरे ।

औपचारिक घोषणा भने हुन बाँकी छ ।

१८०५ मत खसेको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार इटहरीका मेयर द्वारिकलाल चौधरीले १०० मत पुर्याउन सकेनन् । उनले ८० मत मात्र प्राप्त गरे । 

१० बुँदे विवाद रहँदै आएको सुनसरीमा यो परिणामसँगै विवाद समाधान भएको अनुमान गरिएको छ । १० बुँदे पक्षधरको साझा उम्मेदवारका रुपमा उभिएका पोख्रेललाई ओलीनिकट मानिएका भण्डारीले पराजित गरेका हुन् ।

भण्डारीलाई रोक्न एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री भीम आचार्यले निकै कसरत गरेका थिए । आचार्य र भण्डारीबिच लामो समयदेखि मनमुटाव रहँदै आएको छ । आचार्यको गृहजिल्लामै भण्डारीले हात पारेको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यस्तै उपाध्यक्षमा बराहक्षेत्रका मेयर निलम खनालले निकटतम प्रतिद्वन्दी नन्दकुमार बस्नेतलाई पराजित गरेका छन् । 

सचिवमा पर्शुराम यादव यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै सहसचिवमा योगराज खड्का र राम कोइराला विजयी भएका छन् । 

एमाले सुनसरी चुनाव : चौधरीको उम्मेदवारीले भण्डारीलाई सजिलो !