प्रदेश मन्त्री बन्दै रेवतीरमण भण्डारी !

न्युजलय १७ मङ्सिर २०८१, सोमबार ०४:०९ मा प्रकाशित

इटहरी । सुनसरी क्षेत्र नं. २(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित रेवतीरमण भण्डारी मन्त्री बन्ने भएका छन् । कोशी प्रदेश सरकारको रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका भण्डारी नियुक्त हुन लागेका हुन् । 


आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका लिलाबल्लभ अधिकारी जापानमा मानव तस्करीको विषयमा मुछिएपछि अधिकारीले राजीनामा दिएका थिए । अधिकारीमाथि मुद्धा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेपछि उनी फर्किने अनुमानसमेत गरिएको थियो । तर उनको मन्त्रालयमा भण्डारीलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ । अधिकारी बाहिरिएपछि भण्डारी कानुनमन्त्री बन्ने चर्चा चुलिएको थियो ।


कोशी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतक रहेका भण्डारी कानुनका ज्ञाता र अधिवक्ता हुन् । संविधान सभा सदस्यमा निर्वाचित भएका बेलामा भण्डारीले संविधान बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने संघीय, प्रादेशिक कानुन बनाउन पनि सहयोग गरेका थिए । यसैगरी इटहरी घर भएकोले उनले इटहरी सरकारले बनाएका प्रायः कानुनको मस्यौदा गर्ने र अन्तीम रुप दिने कार्यमा सहयोग गरेका थिए ।