धनकुटा । केही दिनयताको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध बनाएको छ।
भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोर सडक खण्डको विभिन्न स्थानमा पहिरो झर्दा बाटो अवरुद्ध बनाएको छ। यी दुवै सडक निर्माणाधीन अवस्थामा छन्। पहिरो खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाले अवरोध बनाएको छ।
अरुण र तमोर नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दालाई बाढीको त्रास बढेको छ। मुलघाट हुँदै पाँचथर, ताप्लेजुङ जाने तमोर कोरिडोर सडक खण्डमा पर्ने नावा खोला, छरुवा लगाययत खोलामा बाढी आउँदा सवारी साधन आवजावतमा समस्या परेको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अत्यावश्यक कामबाहेक सवारी साधनमा यात्रा नगर्न सार्वजनिक अपिल गरेका छन्। निरन्तर वर्षाले विभिन्न स्थानका सडक अवरुद्ध बनाएकोले मानवीय जोखिम हुने भन्दै प्रजिअ पौडेलले घरमै सुरक्षित रुपमा बस्न जिल्लाबासीलाई अपिल गरेका हुन्।