विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा पर्यटनको जग बसाउने उद्घोष गरेका छन् । पर्यटन दिवसको अवसरमा विराटनगरमा “कोशी प्रदेश पर्यटन वर्ष २०८२” को घोषणा गर्दै उनले २०८२ सालमा कोशीमा पर्यटनको जग बसाउने घोषणा गरेका हुन् ।
भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको बताउँदै मुख्यमन्त्री कार्कीले पर्यटनबाट राष्ट्रिय पुँजीको विकास गर्ने बताए । उनले भारतको सिक्किम र बंगाल राज्यका पर्यटकहरुलाई नेपाल भित्राउने योजना रहेको बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने र पुर्वाधारको समेत विकासलाई जोड दिने बताए ।
उनले पर्यटन क्षेत्रका विद्यमान समस्याहरु समाधान गर्न संघीय सरकारसँग पनि पहल गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले पुर्वाधार र प्रचारप्रसारमा सवा अर्ब बढी रकम विनियोजन गरेको बताउँदै स्थानीय तहहरुसमेतको बजेट जोड्दा प्रदेशभरी पर्यटनको विकासमा धेरै काम गर्न सकिने अवस्था रहेको बताए । उनले ८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गर्ने बताए । यस्तै पर्यटन वर्षका लागि ‘रमणीय कोशी’ भन्ने नारा तय गरेको पनि जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले पर्यटन विकासमा धेरै चुनौतिहरु रहेको जानकारी दिँदै चुनौति समाधान गर्न र पर्यटन वर्षलाई सफल बनाउन निजी क्षेत्रले हातेमालो गर्ने प्रतिबद्धता जनाए ।
पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटनको सवारीमा स्टिकर टाँस्ने र स्टिकर टाँसेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने व्यवस्था मिलाएका सरकारले जनाएको छ । कार्यक्रमकै बिच स्टिकर कोशी प्रदेश प्रमुख डिआईजी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गरिएको थियो ।