धनुषा । आज साँझ जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । आज छठ पर्वको तेस्रो दिन हो ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
छठको मुख्य विधि अन्तर्गत पहिलो दिन अरबा–अरबाइन गरिन्छ जसलाई नहायखाय पनि भन्ने गरिएको छ । मंगलबार व्रतालु महिला र पुरुषहरुले नहाय खाय अर्थात् नुहाएर खाएका थिए । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यो दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै प्रसादका खान्छन् ।
आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, नरिबल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् र अर्घ दिनेछन् । त्यस्तै त्यसको भोलिपल्टअर्थात् आईतवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोर्होयाई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।
यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।