इटहरी । नेकपा एमाले इटहरीका पुराना नेताहरु रामप्रसाद चौलागाई र द्वारिकलाल चौधरीबिचको विवाद पुरानै हो । तर त्यो विवाद फेरी एक पटक सतहमा आएको छ ।
एक समय पानी बाराबार रहेका दुई जना पछिल्लो समय मिलेर हिडेको देखिएका थिए । तर गत कात्र्तिक २७ गते मंगलबार राती चौधरीले चौलागाईलाई फोन गरेर अपशब्दसमेत प्रयोग गर्दै गाली गरेका छन् । उनले अपशब्द प्रयोग गर्दै ‘तँ मेयर बन्छस् रे हैन ?’ भन्दै गाली गरेका थिए ।
चौलागाईले संयमित तरिकाले भोलि भेटेर कुरा गर्ने बताइरहँदा चौधरीले एकोहोरो गाली गरेको अडियो प्राप्त भएको छ । गाली गरेको बेलाको अडियो रेकर्ड र सामाजिक सञ्जाल फेसबुकमा चौधरीले आफूलक्षित गरेको टिप्पणीको स्क्रिनसटसहित चौलागाईले प्रदेश कमिटिमा उजुरीसमेत दिएका छन् । उनले कानुनी कारवाहीका लागि पार्टीसँग 'अनुमति मागेका छन्' भने पार्टीबाट समेत कारवाहीको माग गरेका छन् । चौलागाई अहिले प्रदेश प्रदेश कमिटि सल्लाहकार सदस्य छन् ।
उजुरीमा सो दिन दुई घण्टाको अवधिमा चौधरीले आफूलाई फोनमा ३५ पटक कल गरेको र उठाउँदा सुन्नै नसकिने शब्दको प्रयोग गर्दै गाली गलौज र धम्की दिएको उल्लेख गरेका छन् ।
'मलाई आत्महत्या गर, यो पार्टी छोड, अर्काे पार्टीमा जा, इनरुवा दक्षिणमा तेरो हत्या पप्पुले गर्छ, तेरो खुन खान्छु, खुकुरी लिएर हिडेको छु भनि मलाई आतंकित पार्ने र दुरुत्साहन गरेको पाए सम्मका अडियो, भिडीयो र एस.एम.एस.हरु पनि पेस गरेको छु,' उनले उल्लेख गरेका छन् ।
उनले यसअघि पनि यस्तै धम्की दिएको र सार्वजनिक कार्यक्रममै चौधरीले आफूमाथि आक्रमण गरेको उल्लेख गर्दै उनले त्यतीबेला पनि कानुनी उपचार खोज्न लाग्दा पार्टीले मिलाउने भन्दै रोकेपनि टालटुले समाधान गरेकोले चौधरीको मनोबल बढेको चौलागाईको दावी छ ।
यसरी अघि बढेको थियो मनमुटाव
२०७४ सालमा चौधरी मेयर बनेपछि उपमहानगरपालिकाले खरीद गरेको सिएफएल बल्वमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमा चौलागाईको हात रहेको भन्दै चौधरीले विरोध जनाएका थिए ।
उनले चौलागाईविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा आक्रामक अभिव्यक्ति दिने र फोन गरेर गाली गलौज गरेका थिए । तर चौलागाईले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएक छन् ।
पछि चौलागाईंले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाएको भन्दै मेयर चौधरीले खाली गर्न सूचना टाँसेका थिए । चौलागाईले भने खानेपानीको जग्गा खरिदमा ४५ लाख कमिसन चौधरीले मागेकोमा नदिएपछि चौधरी आफ्नो विरुद्ध लागेको बताएका थिए ।
त्यती मात्र होइन, २०७६ जेठमा नेकपा एमालेको सथपग्रहण कार्यक्रममा चौधरीले चौलागाईमाथि हातपात गरेका थिए ।
विवाद सतहमै देखिएपछि एमाले नेताहरुले मिलाउने कोसिस गरेका थिए । जसअनुसार २०७६ फागुनमा एमाले नेता भीम आचार्यले दुवैबिच सहमती गराएका थिए । त्यसको केही समयसम्म दुवैबिच सार्वजनिक कार्यक्रमहरुमा सौहार्द सम्बन्ध रहेको देखिएको थियो । तर एक्कासी चौधरीले गालीगलौज गरेपछि आफू अचम्मित बनेको चौलागाईले बताएका छन् ।
इमान्दार मेयरको परिचय बनाएका चौधरीले गाउँ गाउँ सडक पुर्वाधार निर्माणमा ध्यान दिएका थिए । जसको कारण गाउँसम्मै सडक सञ्जाल जोडिएको छ । तर उनी आफ्नो कार्यकालमा पत्रकारलाई धम्की दिएको, महिलाहरुमाथि अभद्र टिप्पणी गरेको, कर्मचारीमाथि आक्रमण गरेको भन्दै आलोचितसमेत बनेका थिए ।
संघीय निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएपछि उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर प्रदेश सभा सदस्यको लागि सुनसरी क्षेत्र नं. २ (क) बाट निर्वाचनमा होमिएका थिए । तर उनी एमाले नेता रेवतीरमण भण्डारीसँग पराजित भएका थिए । चुनावपछिको लामो समयसम्म सामाजिक सञ्जालमा नदेखिएका उनी एक्कासी ९ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सहित सामाजिक सञ्जालमा फर्केका थिए । तर उनी पहिलाजस्तो सञ्जालमा सक्रिय भने छैनन् ।