वीरगन्ज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधीशहरुमाथि इजलासभित्रै मोसो प्रहार गरिएको छ । इँटाभट्टामा मान्छेलाई जिउँदै जलाएर हत्या गर्ने अफताव आलमलाई सफाइ दिने अस्थायी इजलास वीरगन्जका न्यायाधिशहरु खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि मोसो प्रहार गरिएको हो ।
आफूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने व्यक्तिहरूले मोसो छ्यापेका हुन् । प्रहरीले नेकपा बहुमतका कार्यकर्ताहरू गर्भु महतो, पदम बहादुर मगर र अविनश भन्ने किशोर कुवँरलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो ।
मोसो प्रहार गर्दै उनीहरुले नेपाल कम्युनिष्ट पार्टी बहुमत जिन्दावाद, जनताको करबाट तलबभत्ता खाने तर जनताकैविरुद्धमा फैसला गर्ने न्यायाधीश चाहिँदैन जस्ता नारा लगाएका थिए ।
इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जन्मकैद भोगिरहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो ।