२०७८ साल कार्तिक ७ गते अाईतबार

दसैँमा मासु सुरक्षित राख्ने तरिका

न्युजलय २६ असोज २०७८, मङ्गलबार १२:०२ मा प्रकाशित

प्रोटिनको स्रोतका रूपमा मासुलाई उत्कृष्ट परिकारका रूपमा लिइएको पाइन्छ । विश्वमै मासुको उपभोग बढ्दै गएको छ । सन् १९६० मा प्रतिवर्ष प्रतिव्यक्ति १० केजी मासु खपत हुने गरेकोमा सन् २००० मा यो बढेर २६ केजी पुगेको छ । त्यसैगरी सन् २०३० सम्ममा यो परिमाण ३६ केजीभन्दा बढी हुन सक्ने प्रक्षेपण गरिएको छ ।

दशैंमा मासु खाने नेपाली परम्परा छ । त्यसको लागि सप्तमी वा अष्टमीमा खसी काटेर एक साताभन्दा बढी समयसम्म त्यही मासु राखेर तताउँदै खाने गरिन्छ । तर यसरी खानु स्वास्थ्यका दृष्टिले उचित हुँदैन । किनकी भण्डारण राम्रो भएन भने मासु बिग्रेर जान सक्छ । मासु बिग्रेर खेर जानुको प्रमुख कारक जीवाणुजन्य प्रदूषण र संक्रमणलाई मानिन्छ । 

मासुलाई अलिक लामो समयसम्म सुरक्षित राख्ने हो भने शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसो गरियो भने मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय हुन्छ । 

सामान्यतः यसरी भण्डारण गरिएको मासुमध्ये रांँगाको मासु १२ महिनासम्म सुरक्षित रहन सक्छ भने बंगुर या बँदेलको मासु ६ महिनासम्म उपभोगयोग्य रहन्छ । खसी, बोका, भेडा या च्यांग्राको मासु ६ देखि ९ महिनासम्म सुरक्षित रहन्छ भने कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।

मासुलाई अत्यधिक तापक्रममा पकाउँदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जीवाणु या विषाणु नष्ट हुन्छन् । यसबाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइटको तामपक्रममा तताएर पनि सुरक्षित गर्न सकिन्छ । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्छ । यसबाहेक मासुलाई सुकुटी बनाएर पनि राख्न सकिन्छ । 

यसबाहेक मरमसलाको प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ । तर मसला प्राकृतिक स्वरूपमा भने हुनुपर्छ । यसबाहेक मासुलाई अम्लीकरण गरेर पनि संरक्षित गर्न सकिन्छ । यसो गर्दा मासुमा हुने कार्बोहाड्रेटलाई अम्ल अर्थात् एसिडमा परिवर्तन गर्नुपर्छ । 

प्राप्त हुने मासु सकेसम्म चाँडै पकाउने वा डिप फ्रिज वा फ्रिजमा राख्ने, पकाएको मासु राम्रोसित छोपेर फ्रिजमा राख्ने र खाना खाने बेलामा राम्रोसित तताउने हो भने सुरक्षित मासु उपयोग गर्न सकिन्छ ।