काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्। उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा लेखेकी छिन्, ‘रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको छ।’
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति भएको र उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको बताएका छन् ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । सन् २००८ मा रतन टाटाले पद्म विभूषण, भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार प्राप्त गरेका थिए । यसअघि सन् २००० मा उनलाई पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।
उनले आफ्नो कमाईको ठूलो हिस्सा दानसमेत गरेका थिए ।