जिल्ला अदालत पोखराले रविलाई धरौटीमा छाड्यो, अब काठमाडौ लगिने

न्युजलय २५ पुस २०८१, बिहिबार ०६:३६ मा प्रकाशित

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत कास्कीले पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएको छ ।


सोही अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ। धरौटी बुझाए पनि रवि रिहा हुने छैनन् । किनभने काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारीको अपचलनसम्बन्धि अर्को मुद्धा चलिरहेको छ । त्यसको लागि उनलाई काठमाडौ ल्याउने तयारी छ ।


सुर्यदर्शन सहकारीको सन्दर्भमा लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा समेत मुद्दा दायर भएको छ । जसमध्ये सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ।


काठमाडौको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । सहकारीले ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।