के को आधारमा समातिए लामिछाने ?

न्युजलय ३ कार्तिक २०८१, शनिवार ०७:४७ मा प्रकाशित

काठमाडौ । सहकारी ठगी आरोप लागेपनि पक्राउ पर्नबाट जोगिँदै आएका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । 


ठगीबारे जाहेरी परेपछि वर्ष दिन नपुग्दै दुई पटक गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सत्ताबाहिर भएपछि पक्राउ परेका हुन् ।  कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट पक्राउ अनुमति पाएपछि कात्तिक २ गते रविलाई काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले नियन्त्रणमा लिएर सम्साँझै पोखरा लगेको थियो । 


पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट गोरखा मिडिया प्रालिको नाममा ऋण प्रवाह हुँदा भएको अपचलनमा लामिछाने पनि संलग्न देखिएको भन्दै गत माघमा लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बास्तोलाविरुद्ध पूरक जाहेरी परेको थियो। 


तर उनी पक्राउ नपरेपछि नेपाली काँग्रेस त्यसमा पनि गगन थापा समुहले सहकारी ठगीमा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति बन्नुपर्ने अडान लिँदै संसद् अवरूद्ध गरेको थियो । त्यही बेला तात्कालिन प्रम पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेको बचाउ गर्दै बोलेका थिए। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अनुसन्धान गर्दा लामिछाने कानूनको दायरामा पर्ने अवस्था नरहेको बताएका थिए । 


तर प्रहरी अनुसन्धानबाट भने सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको बताइएको छ । अनुसन्धान टोलीले लामिछानेको नाममा सहकारीबाट २०७८ असार ३१ गते एक करोड रूपैयाँ ऋण प्रवाह भएको र २०८० सालमा त्यो रकम तिरिएको कागजात भेटेको छ । प्रारम्भिक अनुसन्धानमै लामिछानेको नाममा २०८० असारसम्म ऋण रहेको खुलेको थियो । सुरूमा गोरखा मिडिया नेटवर्कको नाममा काढिएको यो ऋण तहगत रूपमा नामसारी हुँदै लामिछानेको नाममा आएको थियो । 


रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीबाट समेत लामिछानेको नाममा २ करोड रूपैयाँ ऋण प्रवाह भएको भेटिएको थियो। उनलाई सहकारीले ‘व्यापार ऋण’ दिएको अभियोगपत्रमा छ। लामिछानेलाई प्रतिवादी नबनाइएपनि अभियोगपत्रमा ठाउँठाउँमा लामिछानेको नाम उल्लेख थियो। कांग्रेसले लगातार संसद अवरूद्ध पारेपछि बढी समस्याग्रस्त सहकारीको छानबिन गर्ने गरी सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन विशेष समिति बन्यो। समितिले भदौको अन्तिममा छानबिन प्रतिवेदन सरकारलाई बुझायो, जसमा लामिछानेलाई कारबाहीको सिफारिश गरिएको थियो। 


लामिछानेकै पूर्व व्यापारिक साझेदार एवं पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेर हिरासतमा छन् भने सूर्यदर्शनसहित अन्य थुप्रै सहकारीको रकम अपचलनको आरोप लागेका जीबी राई फरार छन्।