आजदेखि खुल्यो एक लाख म्यादी प्रहरीको आवेदन

न्युजलय ६ चैत २०७८, आइतबार ०८:३३ मा प्रकाशित

काठमाडौं । बैशाख ३० गते एकै चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी मागिएको छ । त्यसका लागि आजदेखि आवेदन खुलेको छ । 

 

आजदेखि देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन हरेक जिल्लामा खुला गरिएको छ । आवेदन दिनका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । 


४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

 

म्यादी प्रहरीले दैनिक ७५६ रुपैयाँका दरले तलब पाउने छन् । त्यसबाहेक एकमुष्ट सात हजार रुपैयाँ रासन भत्ता, छ हजार रुपैयाँ पोशाक भत्ता र एक हजार रुपैयाँ यातायात खर्चसमेत पाउने छन् । 


आवेदन तोकिएको मितिभित्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दिन सकिने छ ।