इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव साढे पाँच लाख क्युसेक नाघेको छ । ब्यारेजका सबै ढोका खोल्दा पनि पानी ब्यारेज माथिबाट बग्न थालेको छ ।
ब्यारेजको पुलको १८ नम्बर ढोका माथिबाट पानी बगेको हो । पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकोले कोशीमा पानीको बहाब निरन्तर बढिरहेको हो । शनिबार साँझ पानीको बहाव ५ लाख ६० हजार क्युसेक पुगेको छ ।
कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । सप्तकोशीमा पानीको बहाव यति धेरै भएको ३७ वर्षयतामै धेरै रहेको जनाइएको छ । भारतीय पक्षले कोशीमा बाढीको बहाव ७ लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ ।
कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुनसरी स्थानीय प्रशासन र कोशी प्रदेश सरकारले आग्रह गरेको छ ।