धरानमा हाडनाता करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

न्युजलय १६ असार २०८२, सोमबार ११:३३ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका–६ का दुई फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी (हाडनाता) मुद्दामा जिल्ला अदालत सुनसरीबाट कैद र जरिवानाको फैसला भएका उनीहरू वर्षौंदेखि फरार थिए।

जिल्ला अदालत सुनसरीले मिति २०८१ साल माघ ९ गतेको फैसलामार्फत अर्जुन कुमार राई र भक्तबहादुर राईलाई क्रमशः १० वर्ष ७ महिना २ दिन कैद र ४० हजार जरिवाना तोकेको थियो।

अर्जुन र भक्तबहादुर दुवै जना धरान–६ का हुन्।

दुवैजनालाई लामो समयदेखि लुकीछिपी बस्दै आएका अवस्थामा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल असार १४ गते उनीहरूको घर नजिकैबाट फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका दुवै अभियुक्तलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सुनसरी पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।