इटहरी । नेकपा (एमाले)०ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको चुनावमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले विश्वासलाई उम्मेदवार बनाएको हो । उनी एमाले ग्रामथान गाउँपालिका कमिटिका उपाध्यक्ष हुन् ।
एमाले मोरङले भने विश्वाससहित शिवनारायण माझी र निर्मला अधिकारीको नाम प्रदेश कमिटीलाई पठाएको थियो । जसमध्ये विश्वासले बाजी मारेका हुन् ।
नेपाली कांग्रेसले पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)ले पूर्व वडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । २०७९ सालको निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको निधन भएपछि उक्त पालिकामा चुनाव हुन लागेको हो ।