इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले तीन जना श्रष्टाहरुलाई सम्मान गरेको छ । अग्रज गीतकार दिनेश थपलिया, कवि बम देवान र आख्यानकार बलराम पोखरेललाई सम्मान गरेको हो ।
चौधौँ साधारणसभाको अवसरमा थपलियालाई हरिप्रसाद घिमिरे स्मृति, देवान र पोखरेललाई दिपेश राई स्मृति पुरस्कार प्रदान गरेको हो । सबै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।
लेखनाथ घिमिरेको अध्यक्षता तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको मुख्य उपस्थितिमा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूको कृतित्व र योगदानसहित प्रतिष्ठानका गतिविधिहरू चर्चा गरिएको थियो ।
इटहरीका कवि स्व. जीबी लुगुनले २०५२ सालमा स्थापना गरेको अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, पुरस्कार वितरण, कृति प्रकाशनलगायत गतिविधि गर्दै आएको छ ।
यसैबीच, प्रतिष्ठानको चौधौँ साधारणसभाले सर्जक केशव सुनामको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको नवनिर्वाचित उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा जीवन राई, कोषाध्यक्षमा लक्ष्मी रेग्मी, सदस्यमा कृष्णविनोद लम्साल, जगदीश सापकोटा र तीर्थकुमार राई रहेका छन् ।