‘नक्कली प्रितम बनाएर गाउन लगाउने हर्कत बौद्धिक सम्पत्तीको डकैती र ठगी’

न्युजलय २ कार्तिक २०७९, बुधबार ०४:५८ मा प्रकाशित

इटहरी । ठूला कलाकार आउने भनेर टिकट बेचेर अन्तीममा कलाकार ल्याउन नसकेका कार्यक्रमहरु त धेरै नै हुने गरेका छन् । तर एउटा कलाकारको नाम भनेर अर्कैलाई स्टेजमा उतारेर कार्यक्रम गरिएको घटना भने विरलै हुने गरेको छ । तर काठमाडौस्थित एउटा होटलले यस्तै हर्कत गरेर उपस्थित दर्शकहरुलाई मुर्गा त बनायो नै, पैसा कमाउनको लागि कलाकारहरुलाई कतिसम्म दुरुपयोग गर्छन् भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छ । 

मंगलबार राती काठमाडौको किङ्स लाउन्जमा प्रितमलाई भनेर अर्कै कलाकारलाई प्रस्तुती दिन लगाइएको छ । भारतीय रियालीटी शो सारेगमप लिटल चाम्समा दोस्रो रनरअप भएका बाल गायक प्रितमको तस्वीर देखाएर अर्कै कलाकारलाई प्रस्तुती दिलाउँदा उपस्थितहरुले भने चिन्न सकेनन् । त्यतीखेर प्रितम भने इटहरीस्थित आफ्नै घरमा थिए ।

लाउन्ज संचालकले प्रितमको तस्वीर एलइडी स्क्रिनमा देखाएर प्रितम आचार्यलाई स्वागत गरौं भने । स्टेजमा एक जना मोटोघाटो किशोर देखिए । उद्घोषकले उनलाई बोलाउदै ‘बाबु ठूलो भएछ है, तै भएर चिन्नै सकिनँ’ भनेर भने । त्यसो भनिरहँदा दर्शकहरु पनि झुक्किएर समर्थनमा हुटिङ गरेका थिए । ति किशोरले पनि आफूलाई प्रितम भनिएको बारेमा कुनै प्रतिक्रिया दिँदैनन् । उनको स्वीकारोक्ति देखिन्छ । माइक समातेपछि उनले आज गीत नगाउने भन्छन्, तर, धेरैले अनुरोध गरेपछि गाउँछन् । दुई लाइन बेसुरको गीत गाएपछि उनी बाहिरिन्छन् । उद्घोषकले उनी बिरामी भएकोले वासरुम गएको उद्घोष गर्छन् । 

बिरामी भए भनिएका ती किशोर दर्शक दीर्घामा पुगेर आफूलाई प्रितमकै रुपमा प्रस्तुत गरिरहेको भिडियो पाइएको छ ।

प्रितमका बुवा कुमार आचार्यले प्रितम भनेर अन्य कलाकारलाई प्रस्तुत गर्नु गलत भएको बताए । प्रितमको नाममा व्यापार गर्ने लाउन्जको व्यवशायिक इमान्दारितामा पनि प्रश्न उठेको उनले बताए । 

कलाकार तथा सगीतसाधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले यसलाई बौद्धिक सम्पतिको डकैति र ठगि भनेका छन् । बाल गायक प्रितम आचार्य भनेर अर्को मान्छे उभ्याएर व्यवसाय गर्ने लाउन्जलाई कारवाही गर्नुपर्ने उनले माग गरेका छन् । इटहरी उमनपाको सद्भावना दूतसमेत रहेका प्रितमलाई यसरी प्रयोग गर्नु अपराध भएको बताउँदै उनले यस्तो कार्य निरुत्साहित बनाउन आग्रह गरेका छन् । 

यता सामाजिक सञ्जालमा विरोध सुरु भएपछि लाउन्जले हिजोको उक्त भिडियो हटाएको छ । साथै प्रितमसँग सम्बन्धित तस्वीरहरुसमेत पेजमा पाइएन । 

डिलिट गरिएको फेसबुक लाइभ भिडियो :