२००८ सालमा राधाप्रसाद रिजालले इटहरी चोकको राधाकृष्ण मन्दिरमा केटाकेटी भेला गरेर पढाउने व्यवस्था मिलाएका थिए । यो तात्कालिन इटहरीको दोस्रो विद्यालय हो । इटहरीको गैसारमा सरस्वती सतन प्रावि २००७ सालमै खुलेको थियो । तर जंगलै जंगलको त्यो बेलाको इटहरीमा एक छेउदेखि अर्को छेउ जान पनि बाघलगायत जंगली जनावरको डर हुन्थ्यो । त्यसैले इटहरी चोकका विद्यार्थीहरुलाई सुविधा होस् भन्नका लागि जनता विद्यालय खोलिएको थियो ।
जनता विद्यालयले इटहरीको दोस्रो विद्यालयका रुपमा २०१३ सालमा स्वीकृति पाएको हो । विभिन्न दाताबाट जग्गा जुटाएर सुरु गरिएको विद्यालय चलाउन तात्कालिन प्रधानपञ्च रामकुमार सुब्बाको पालामा हाट लगाउन थालियो । शिक्षक आफै पनि निकै न्युन तलबमा काम गर्थे ।
तर यो विद्यालयले २०६० को दशकमा आफूलाई समयअनुसार परिमार्जित गर्न सकेन । राजनीतिकरण बढ्यो । विद्यालयमा पढाउने शिक्षकका छोराछोरीहरु पनि निजी स्कुलमा पढ्थे । निजी विद्यालयप्रतिको आकर्षणले जनता विद्यालय रित्तिन थाल्यो । विद्यार्थी संख्यासँगै भौतिक पुर्वाधार अनि विद्यालयको साखः निरन्तर खस्कन थाल्यो ।
विद्यालयको खस्केको साखलाई २०७५ सालयता भने अविभावकहरुको सक्रियतामा उठाइएको छ । खासगरी नयाँ व्यवस्थापन समिति बनेपछि शिक्षक, अविभावकलगायत यहाँका सबै राजनीतिक दलका नेताहरु र पुर्वविद्यार्थीहरुसमेत विद्यालयको अवस्था सुधार्न लागिपरेका छन् ।
विद्यालयले अंग्रेजी भाषाबाट पढाई सुरु गरेको छ । कक्षाकोठामा प्रोजेक्टर, डिजिटल बोर्डलगायतका प्रविधि प्रयोग गरिएको छ । स्तरीय सुविधासहितको निजी विद्यालयभन्दा कम नहुने गरी व्यवस्थापन गर्दै लगिएको विद्यालय व्यवस्थापन समितिका शिवराज दाहालले जानकारी दिए ।
पर्याप्त सरकारी सहयोग भएर पनि मुर्झाउँदै आएका देशभरका सामुदायिक विद्यालयहरुको लागि जनता विद्यालयको यो प्रगतीले उत्साहित बनाएको छ । विद्यार्थी र अविभावकमा आकर्षण बढेको छ । विद्यार्थीहरुलाई प्रवेश परिक्षा लिएर भर्ना गर्ने गरिएको विद्यालयका प्राधानाध्यापक पशुपती सिग्देल बताउँछन् । यहाँ आफ्ना छोराछोरी पढाउन चाहने अविभावकहरुको संख्या यति धेरै छ कि अहिलेको पूर्वाधारले नपुगेर नयाँ थप भवन निर्माण गरिँदैछ । इटहरी र आसपासका राम्रा भन्दा राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको सिग्देलले बताए ।
अहिले जनता विद्यालय पूर्वकै सुविधासम्पन्न नमुना विद्यालय बन्ने तयारीमा छ । सरकारले पनि सहयोग गर्न खोजिरहेको छ । अर्कोतर्फ शिक्षक, अविभावक, पुर्व विद्यार्थीहरु सबै नयाँ इतिहास बनाउन लागिपरेका छन् । पुर्व विद्यार्थी सञ्जोग पराजुली विद्यालयको विकासका लागि पुर्वविद्यार्थीहरु पनि संगठित भएको र आफूले सक्ने सहयोग जुटाउन थालेको बताउँछन् ।
विद्यालयको विकासको लागि अविभावक, शिक्षक, स्थानीय तह, राजनीतिक दलका प्रतिनिधि आदि सबै पक्षलाई एक जुट बनाइएको छ । कुनै समय राजनीतिले थलिएको विद्यालय बनाउन अहिले राजनीतिक नेतृत्वहरु नै हातेमालो गरिरहेको नेपाली काँग्रेस इटहरीका सभापती हेमकर्ण पौडेल बताउँछन् ।
बढ्दै गरेको साखलाई संस्थागत गर्ने अभिभारा अहिलेको व्यवस्थापन समिति तथा शिक्षकहरुमा छ । इटहरी उपमहानगरपालिकालेसमेत विद्यालयको विकासको लागि सहयोग गरिरहेको मेयर द्वारिकलाल चौधरी बताउँछन् ।
सर्वसुलभ सामुदायिक शिक्षाको लागि विद्यालयले अझ गुणात्मक फड्को मार्ने तयारी गर्दैछ । भौतिक पुर्वाधार विकास, अंग्रेजी माध्यमबाट अध्यापन अनि निरन्तर निगरानी र अतिरिक्त क्रियाकलापसँगै धेरै योजना र सपना विद्यालयको छ । विद्यालयलाई अब्बल र नमुना सामुदायिक विद्यालय बनाउने अभियानमा आफूहरु रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल बताउँछन् ।
उनका अनुसार विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरिदिनको लागि इटहरीका सबै समुदाय, तह तप्काका अविभावकहरुको फोन आउने गरेको बताउँदै निष्पक्ष ढंगले परिक्षा गरेर मात्र भर्ना लिने गरिएको बताए । उनले सबै इच्छुक विद्यार्थी र अविभावकहरुको मागलाई ध्यानमा राखेर आफूहरु भौतिक पूर्वाधार व्यवस्थापन र शिक्षक व्यवस्थापनमा जुटेको उनले जानकारी दिए ।
व्यवस्थापन समितिका जुझारु सदस्यहरुको सक्रियता र अविभावकलगायत सबैको सहयोगका कारण इटहरीकै अविभावक यो विद्यालयले काँचुली फेर्दैछ । मिलेर प्रयास ग¥यो भने शिक्षा विकासमा क्रान्ति गर्न सकिने रहेछ भन्ने उदाहरण जनता विद्यालयले देखाएको छ ।