खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।
फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
मृग भनेर आफूले हानेको गोली लागेर साथीको घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको बताइएको छ ।
फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् ।
घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।
घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ