सुनसरी । विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । पुर्वका विभिन्न स्थानीय तहमा निर्वाचन हुँदैछन् ।
तीमध्ये ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख, मोरङको ग्रामथान गाउँपालिका प्रमुखको लागि चुनाव हुँदैछ ।
यस्तै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ३, झापाको कन्काइ नगरपालिका ६, तेह्रथुमको लालीगुराँस नगरपालिका ८, सुनसरीको गढी गाउँपलिका ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।