सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. ७ जिल्लामै पर्यटन, कृषि तथा उद्योगको लागि उच्च सम्भावना बोकेको वडा हो । यो वडाको समग्र विकासका लागि पछिल्लो केही वर्षयता व्यवस्थित तवरले काम हुन थालेको छ । पहिलो कार्यकाल लोकप्रिय काम गरेकै कारण वडावासीले केशव गौतमलाई दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित गराएका छन् । उनै वडाध्यक्ष गौतमसँग न्युजलयको लागि ज्योति प्रोख्रेलले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरिएको छ –
तपाइको पहिलो कार्यकालको अनुभव कस्तो रह्यो ?
भौतिक निर्माणमा अलिक बढी जोड दिनु परेको थियो । जनआकांक्षा विकासका पूर्वाधार र भौतिक निर्माणमा बढी थियो । हामीले त्यही अनुसार कार्यसम्पादन गर्न सक्यौं भन्ने लाग्छ । त्यसै कारण मतदाता तथा आम वडावासीहरुले पत्याएर दोस्रो कार्यकालको लागि जिताएर पठाउनुभएको छ ।
पहिलेको कार्यकालमा के कस्तो कामहरुमा जोड दिनुभएको थियो ?
हामीले चुनावी घोषणा पत्रमा उल्लेख गरेअनुसार पहिलो चरणमा बाटोहरु नभएको ठाउँहरुमा बनाउने, ग्राभेल गर्ने, ग्राभेल बाटोहरुमा नाला बनाउने र नालाहरु निर्माण भईसकेका बाटाहरुलाई कालोपत्र गर्ने अभियान सुरु गरिएको थियो । तीन वर्षको बजेटलाई अलिअलि कटाएर वडा कार्यलयको लागि भवन निर्माण गर्न सफल भइयो । वडाहरुमा स्वास्थ्य केन्द्रहरु नभएको हुँदा एउटा आधारभूत स्वास्थ्य केन्द्र बनाइ सञ्चालनमा ल्याउन सफल भइयो । हाम्रो वडा जंगलको छेउमा भएका कारण सुरक्षाको लागि प्रहरी पोष्ट खडा गरियो । उहाँहरुको लागि जग्गा खोजेर भवनसमेत निर्माण गर्न सफल भयौं । यसरी हामीले पूर्वाधारलाई नै पहिलो प्राथमिकता दिएर अगाडी बढ्यौं । २३ वटा कल्भर्टहरु, सात वटा पुलहरु निर्माण सम्पन्न गरेका छौं ।
हामी निर्वाचित भएर पहिलो पटक आउँदा स्थानीय सरकार सञ्चालन ऐन तयारी भएको थिएन । त्यो नहुँदै गर्दा पनि हामीले आफ्नो कामहरु सुरु गर्यौँ । कानुन बनाउनु हाम्रो लागि चुनौतीको विषय बनेको थियो ।
त्यो सँगै कृषिको क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने हिसाबले वर्षे धानहरु लगाउने, चैते धान अनुदान वितरणको कार्य सुरु गर्यौँ । स्प्रे मेसिनहरु, विषादीहरुको वितरण लगायतका कृषि क्षेत्र प्रवद्र्धनको काम सम्पन्न गर्यौं । महिलाहरुको लागि सीपमूलक तालिकहरु सञ्चालन गर्ने, गुडिया बनाउँने, माला पोते बनाउने लगायतको तालिमहरु सञ्चालन गरियो । पछिल्लो समय सिटिभिटिको सहयोगमा १५ जना पशु प्राविधिकहरु उत्पादन गर्यौ । उहाँहरुले पशुहरुलाई विभिन्न किसिमको खोपहरु लगाइरहनु भएको छ ।
नदि खोला नियन्त्रण र सिँचाइको लागि पनि धेरै कामहरु अघि बढेका छन् नि होइन र ?
धरान हुँदै बगेर आउने सेउती खोला जसले ६ किलोमिटर हाम्रो वडालाई काटेर जान्छ । कजरा खोला, गोलझाप्री खोला साथै शंकरबेली यी चार वटा खोलाहरुले वडामा कटानको समस्या निम्त्याएको छ । जल उत्पन्न प्रकोप सव डिभिजन कार्यलयसँग समन्वय गरेर खोलाको कटान नियन्त्रण गरेका छौं । तीन वटा खोलाई पूर्ण रुपमा नियन्त्रण गर्ने चरणमा छौं ।
अघिल्लो कार्यकालको अन्त्य तिर राष्ट्रपति चुरे परियोजना अन्तर्गत ६० लाख बजेट परेको छ । त्यसको सम्झौता भईसकेको र काम सुरु हुने चरणमा छ । यस्तै दचकित्ता सिचाई आयोजना, भक्राह सिचाई आयोजनामा ४–४ करोड रुपैयाको काम भइरहेको छ । यस्तै कज्राहखोला सिचाई आयोजना, भुल्केदेवी सिचाई आयोजना लगायतको सिचाई क्षेत्रमा पनि उल्लेखनीय कामहरु हुँदै आएका छन् ।
दोस्रो कार्यकालको लागि निर्वाचित भईसकेपछिको यो अवधिमा के कस्ता कामहरु सम्पन्न गर्नुभयो ?
अहिले ५० लाख लागतको सडक कालोपत्रे कार्य सुरु भएको छ । अर्को २० लाखको ड्रेन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । उच्च स्तरको ग्राभेल निर्माण सम्पन्न भएको छ । दुई वटा मन्दिर निर्माण सम्पन्न भएका छन् । अन्य योजनाहरु सम्झौता भएर कार्यन्वयन भईरहेका छन् । अघिल्लो नगरसभाले पास गरेको बजेटहरुमा केही शब्दहरु केही रकमहरु संशोधन गर्नुपर्ने भएकाले ती आयोजनाको उपभोक्ता समिति गठन गर्न सकिरहेका थिएनौं । पछिल्लो नगरसभाले ती योजनाहरु अधिकार प्रत्यायोजन गरिसकेपछि लागत स्टिमेट तयारी गरेर सम्झौता भईरहेको अवस्था छ ।
अहिलेसम्म ७ वटा आयोजना पूर्ण रुपमा सम्पन्न भएका छन् । तत्काल सबै अनुगमन प्रकृया गरिसक्दा थप तीन वटा आयोजना सम्पन्न गरिसकिने छ । यी आयोजना सकिँदै गर्दा लगभग वडाको पूर्वाधार आयोजना सकिने चरणमा पुग्छ । लक्षित योजनाअन्तर्गत महिला र दलित योजनाहरु बाँकी रहेपनि सम्झौता भईसकेको अवस्था छ । यसरी हामीले करिब ७० प्रतिशतको काम सम्पन्न गर्दैछौं ।
यो वडा प्राकृतिक रुपमा पनि सम्पन्न छ, यहाँको प्राकृतिक सम्पदाको उपयोग र विकासलाई कसरी अघि बढाइएको छ ?
वन तथा खोलानालाका प्राकृतिक स्रोत साधनहरुको उपभोग गर्नको लागि ऐन बाझिएका कारण पाएका छैनौं । ढुङ्गा, गिट्टी, बालुवाको लागि अत्यन्तै राम्रो सेउती खोलामा रहेको छ । त्यसको बढी भाग जंगल क्षेत्रमा पर्दछ । वन ऐन २०७७ र नियमावली २०७८ आईसके पछि रोकिएको हुँदा गत वर्षदेखि त्यसको ठेक्का अघि बढाउन सकिरहेका छैनौं । यसपटक आवादी क्षेत्रमा त्यतिधेरै स्रोतहरु निस्कने अवस्था छैन ।
यस्तै हाम्रो वडामा तीन वटा सामुदायिक वनहरु रहेका छन् । ती सामुदायिक वनहरुले आफ्नो वन कार्ययोजना अनुसार कामहरु गर्दछन् । भौतिक पूर्वाधारको क्षेत्रमा वडाको समन्वयमा पनि काम भईरहेको अवस्था छ । जस्तोकी बुढी सिमसारलाई व्यवस्थापन गर्ने भनेर योजना अघि सारेका छौं । त्यसमा हामी पनि लगानी गछौं र वनले पनि लगानी गर्छ । यसरी सुनसरी सामुदायिक वनले रास तालमा गर्छ । यसरी पर्यटकीय क्षेत्रमा भएको आम्दानी त्यही क्षेत्रमा लगानी गर्ने गरिएको छ । त्यसले विकास निर्माणको कामलाई टेवा पु¥याएको अवस्था छ ।
जंगलको क्षेत्रमा अलि बढी सिमसार भएको कारण त्यसलाई प्राथमिकतामा राखेका छौं । त्यसको संरक्षणको लागि संघ, प्रदेश र वडाको बजेट व्यवस्था गर्यौँ । विशेष गरेर वन मन्त्रालयसँगको समझदारीमा सिमसार क्षेत्रलाई पर्यटकीय केन्द्र बनायौँ । हाम्रो वडामा पर्ने पञ्चायन सिमसार, रास ताललाई पर्यटकीय क्षेत्र बनाइएको छ ।
त्यसैगरि हाम्रो भाषा संस्कृति सँग जोडिएको विशेष गरेर आदिवासी बसोबास रहेको क्षेत्रमा १३ वटा ग्रामथानहरुको निर्माण गरेका छा्रैं । यसपटक पनि २ वटा ग्रामथानको लागि बजेट विनियोजन गरेका छौं । बहुजातीय, बहुधार्मिक संग्राहलय बनाउन पर्छ भन्ने हिसाबले रासतालको क्षेत्रमा विभिन्न जातजातिहरुको आस्थाको धरोहर, मन्दिरहरु बनाउने काम भइरहेका छन् । अहिलेसम्म १७ जातजातिहरुको मन्दिरहरु निर्माण सम्पन्न भएका छन् । त्यससँगै एउटा शिवालय निर्माण गरेर अन्तिम चरणमा पुर्याएका छौं ।
यस वडामा स्थानीयको समस्याहरु के कस्ता रहेका छन् अनि आगामी योजनाहरु के के छन् ?
वडाबासीहरुबाट अत्याधिक मात्रामा पञ्जिकाको समस्या आउने गर्दछ । जन्मदर्ता गर्न खासै वास्ता नगर्ने समस्या समाधान गर्न विद्यालयलाई विद्यार्थी भर्नाको समयमा जन्मदर्ता अनिवार्य गर्न पत्राचार गरेका छौं ।
जंगलको क्षेत्र पनि धेरै भएका हाम्रो वडामा पछिल्लो समय हात्ती आतंक बढ्दो छ । घर भत्काइदिने, अन्न बाली नोक्सान गर्दिने गरेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले त्यसको क्षतिपूर्ति दिनुपर्ने तर नम्बरी जग्गा हुनुपर्ने हुन्छ । विशेषगरी सुकुम्बासी बस्ती र ऐलानी जग्गामा बसोबास गर्नेहरु त्यसबाट बञ्चित हुनुपरेको छ । कानुनी रुपमै बाधा भएपछि राहतको लागि पहल गर्न सकिएको छैन । तर पनि हाम्रो वडाले १० देखि २५ हजार रुपैयासम्म राहत दिँदै आएका छौं । बाँदर आतंक पनि बढ्दै आएको छ । त्यसको व्यवस्थापन पाटोलाई गम्भीरताको साथ लिएका छौं ।
वडामा मुसहर, दलित बस्तीहरु लक्षित ‘तराई मधेश समृद्धि’ कार्यक्रममार्फत् ४४ वटा घर निर्माण गरि हस्तान्तरण गरेका छौं । त्यसका साथै वडाका ४४ घरमा फुसको छाना हटाएका छौं । यी कार्यहरु संघीय सरकारको समन्वयमा भएका हुन् ।
यसबाहेक अहिले देखिएको मुख्य आवश्यकता नै सडक पूर्वाधारको हो । त्यसलाई कालोपत्र गरेर व्यवस्थापन गर्ने कुरा महत्वपूर्ण रहेको छ । त्यसको लागि अघिल्लो वर्ष देखि नै तीन तिरबाट सडकमा कालोपत्रे गर्ने काम सुरु गरेका छौँ । अघिल्लो कार्यकालमा ३६ किमि नाला निर्माण र करिब ३ किमि कालोपत्रेको काम सम्पन्न गरेका थियौँ । अहिले निरन्तर रुपमा कामहरु भइरहेका छन् । हाम्रो भौगोलिक हिसाबले ठूलो वडा र मूल सडकहरु ४ वटा भएको कारणले गर्दा संघीय सरकारसँग समन्वय गरेर कामहरु भईरहेको छ । चालु आर्थिक वर्षमा करिब ५ किमि सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
यस्तै सिँचाइ, ढल निकासको समस्याहरु पनि छन्, तिनलाई समाधान गर्न अघि भनेझैं धेरै कामहरु भइरहेका छन् । कतिपय कामको लागि बजेट मागको काम पनि अघि बढेको छ । नदी कटान नियन्त्रण, पर्यटन प्रबद्र्धन, उद्यमशीलतालाई प्रोत्साहन, शिक्षामा विद्यार्थीहरुलाई सहयोगजस्ता धेरै कामहरु गरिरहेका छौं र अझ व्यापकताका साथ लाने योजनामा पनि छौं ।
यस वडाको विकासको लागि कोसँग के आह्वान गर्नुहुन्छ ?
विकासको श्रोत नगरपालिका र त्यसमा पनि कम बजेट आउने, राजस्व संकलन पनि कम हुने भएकाले विकासको लागि थुप्रै समस्याहरु रहेका छन् । तथापी विकास निर्माण एकल प्रयासले नहुँदो रहेछ । सानो खालको योजनाहरु वडा नगरको बजेटले गर्न सकिन्छ भने ठूला ठूला आयोजना सञ्चालनको लागि संघीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक छ । ठुला स्रोतहरु प्रदेश र संघीय सरकार मार्फत आउछन् । पछिल्लो ठूला आयोजनाअन्तर्गत तरहरा चतरा मार्गको डिपिआर सम्पन्न गरेका छौं । विभिन्न ठूला आयोजना सञ्चालनका लागि संघ र प्रदेश सरकारबाट आशा र अपेक्षा गरेका छौं ।