निमकरोली बाबा सेवा समितिले रामधुनीमन्दिर परिसरभित्र मन्दिर र धर्मशाला बनाउने

न्युजलय २९ बैशाख २०८२, सोमबार ०५:४९ मा प्रकाशित

सुनसरी । सुनसरीको रामधुनी मन्दिरभित्र नेपालमै पहिलोपटक निमकरौली बाबाको मन्दिर बन्ने भएको छ । रामसीता तथा हनुमानको मन्दिरसँगै निमकरोली बाबाको मन्दिर बनाउन लागिएको समितिकी उपाध्यक्ष प्रतिक्षा अधिकारीले जानकारी दिइन् । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सोमबार मन्दिर शिलान्यास गरेका छन् ।


निमकरौली बाबालाई हनुमानका परम भक्त एवं योगी सन्त मानिन्छ । भारतमा निमकरौली आश्रमसमेत रहेको छ । नेपालमा पनि पहिलोपटक निमकरौली बाबा सेवा समिति गठन गरि भन्दिर बनाउन लागिएको हो ।


समितिकी उपाध्यक्ष प्रतीक्षा अधिकारीका अनुसार उक्त स्थानमा रामसीता र हनुमानको प्रतिमासहितको मन्दिर बनाइनेछ । यस्तै निमकरौली बाबाको फोटो राखिनेछ । मन्दिर र धर्मशाला निर्माणका लागि अनुयायीहरूबाट ७ करोड रुपैयाँ संकलन गर्ने र आगामी दुई वर्षभित्र मन्दिर तथा धर्मशाला आश्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


‘यस्तो ऐतिहासिक तीर्थ रामधुनीमा अहिलेसम्म रामसिताको मूर्तीसमेत छैन, हामी रामसीताको मूर्तीसहितको मन्दिर बनाउँछौं र धर्मशालामा हाम्रो मुख्य जोड हो,’ उनले भनिन्, ‘धर्मशाला भयो भने पर्यटकहरुलाई बस्न सुविधा हुन्छ, यसले भक्तजनहरुको आगमन बढाउँछ ।’ 


रामधुनी नगरपालिका कार्यपालिकाको स्वीकृतिपछि मन्दिर परिसरभित्रकै ५.५ कट्ठा क्षेत्रफलमा आधुनिक वास्तुकलामा आधारित मन्दिर निर्माण गर्न लागिएको हो । यस्तै ३.५ तलाको धर्मशाला बन्ने जनाइएको छ ।  


शिलान्यासपछि बोल्दै मन्त्री मण्डलले प्रदेश सरकारले धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको उल्लेख गर्दै रामधुनी क्षेत्रको दिगो विकासका लागि स्पष्ट योजना बनाएर अघि बढिरहेको जानकारी गराए । शिलान्यास कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरू, धार्मिक अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।