अस्पताल र ल्याबको सबै सेवा सहज बनाउँदै ‘क्युरा हेल्थ’ एप

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०२:४३ मा प्रकाशित

इटहरी । नेपालको चिकित्सा क्षेत्रमा आधुनिक प्रविधि तथा तरिकाहरुको प्रयोग गरेर बिरामीहरुको स्वास्थ्य जाँच तथा उपचार हुने गरेको छ । तर स्वास्थ्य सेवा लिनका लागि भने बिरामीहरुमाझ सरल प्रक्रिया अझै उपलब्ध छैन । डाक्टरहरु आए नआएको फोन गरेर बुझिरहनुपर्ने, लामो लाइन बसेर बिल काट्नुपर्ने, सामान्य फलोअपका लागि पनि डाक्टरकहाँ गइरहनुपर्ने जस्ता झन्झट अझै छ ।

तर यी सबै झन्झट र समस्याहरु समाधान गर्ने गरी क्युरा हेल्थ नामक एप सार्वजनिक भएको छ । स्वास्थ्य सेवालाई स्मार्ट बनाउने अभ्यासस्वरुप नेपालमा पहिलो पटक यस्तो एप प्रयोगमा ल्याइएको हो । 

यो एपले विभिन्न अस्पतालहरुमा उपलब्ध डाक्टरहरुको विवरण, सेवा उपलब्ध हुने समयहरुको बारेमा जानकारी लिन सकिने मात्र होइन, उनीहरुसँग भिडियो कलमार्फत् स्वास्थ्य परामर्शसमेत लिने सुविधा दिन्छ । अस्पतालहरु पर्याप्त भएर पनि बिरामीहरु अल्मलिनुपरेको अवस्थालाई सहजिकरण गर्न विभिन्न सुविधासहितको एप ल्याइएको क्युरा हेल्थका मेनेजर सुमन मंग्रातीले जानकारी दिए । उनका अनुसार एपमा दिइएका नम्बरमा फोन गरेर पनि सेवा लिन सकिन्छ ।


विराटनगरबाट सेवा दिन सुरु गरेको यो एपबाट अब इटहरीका बिरामीहरुले समेत सुविधा पाउनेछन् । इटहरीमा रहेका विभिन्न अस्पताल, मेडिकलहलदेखि विराटनगरका अस्पतालहरुमा अनलाइनमार्फत पुर्जा लिन सकिन्छ । 

यस्तै ल्याब सुविधा पनि एपमार्फत लिन सकिन्छ । इटहरी तथा विराटनगरका ए तथा बी ग्रेडका ल्याबहरुबाट घरमै बसी बसी रगत जाँच गर्न मिल्ने सुविधासमेत एपमा छ । ल्याब टेक्निसियन घरमै पुगेर रगत संकलन गरि रिपोर्ट दिने सुविधासमेत रहेको मग्रातीले जानकार दिए ।

एपले दशैं, तिहारको अवसरमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट अफरसमेत ल्याएको छ । जसमा थाइराइड टेस्ट ८०० रुपैया, लिपिड प्रोफाइल ९ सय रुपैया, बेसिक होल बडी प्याकेज ३ हजार पाँच सय रुपैया, प्रिमियम होल बडी प्याकेज ५ हजार पाँच सय रुपैयामा उपलब्ध गराएको छ ।

यो एप प्ले स्टोर र एप्पल स्टोर दुवैमा उपलब्ध छ ।