विराटनगर । बाढी र पहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरी फर्कने क्रममा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवारी गाडीमा आक्रमण गरिएको छ।
भोजपुर र उदयपुरको सीमाक्षेत्रमा बाढीले पुराएको क्षतिबारे जानकारी लिएर फर्कने क्रममा मंगलबार राति अज्ञात समूहले उदयपुरको बेलका नगरपालिकास्थित सिरवानी क्षेत्रमा राज्यमन्त्री राई सवार प्रदेश १ – ०४– ००१ झ ००३२ नम्बरको गाडीमा आक्रमण गरेका हुन्।
राज्यमन्त्री राईले भोजपुरको क्षतिग्रस्त चुहारको झोलुंगे पुल, जोगेपाथर घारे झोलुंगे पुल, बाक्सीखोप झोलुंगेपुल, निर्माणाधीन मोटरेवल सडकलगायत स्थलगत निरीक्षण गरी फर्कने क्रममा बाटो छेकेर ढुंगा प्रहार भएको जानकारी दिइन्।
गाडीमा राज्यमन्त्री राईसहित आमचोक गाउँपालिका उपाध्यक्ष सीता राईलगायत ७ जना सवार रहेको बताएकी राज्यमन्त्री राईले बाटो छेकेर ज्यान मार्ने उद्देश्यले नै करिब १५ जनाको समूहले आक्रमण गर्न खोजेको बताइन्।