इटहरी । विश्व संगीत दिवसको अवसरमा संगीत साधना प्रतिष्ठान इटहरीले साँगीतिक कार्यक्रम प्रस्तुत गरेको छ । कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठसँगै स्थानीय गायक तथा कविहरुले आफ्नो प्रस्तुती दिएका छन् ।
कार्यक्रममा प्रदेश सांसद मीना श्रेष्ठले आफ्नो बुवालाई सम्झेर लेखेको कविता वाचन गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा जिटीभी लिटल चाम्सका फस्र्ट रनरअप प्रितम आचार्य द भ्वाइस किड्सका फस्र्ट रनरअप रिजन डाँगीले गीत गाएका थिए । यस्तै द पोइट आइडल फाइनलिस्ट डा. मुस्कान पोख्रेलले कविता वाचन गरेकी थिइन् ।
द भ्वाइ अफ किड्सको चलिरहेको सिजनमा राम्रो प्रस्तुती दिइरहेका इटहरीका टेनिसा परियार र सिम्ला धितालले समेत गीत गाएका थिए । परियारको गीतमा शोका चारै जजहरुको कुर्सी घुमेको थियो ।
यसैगरी नवप्रतिभा प्रिन्जा बजगाईँ, ७ वर्षिया काव्या कार्की, भुमा अधिकारी, अंकुर भट्टराई, जानुका कोइराला, कुसुम कार्की, कृष्णराजा श्रेष्ठले गीत गाएका थिए ।
इटहरी वडा नं. १९ का वडाध्यक्ष सत्यना. चौधरीले समेत कार्यक्रममा गीत गाएका थिए ।
प्रतिष्ठानले नियमित रुपमा आफ्नै भवनमा साँगीतिक कार्यक्रमहरु गर्ने गरेको छ । प्रायः कार्यक्रम स्वयंसेवी तरिकाले गर्ने गरेकोमा उक्त कार्यक्रम भने सामाजिक विकास मन्त्रालयको सहयोगमा गरिएको थियो ।