प्रेम र प्रतिशोधको फिल्म मोदिबेनी

ज्योति पोख्रेल १८ साउन २०८१, शुक्रबार ०९:०२ मा प्रकाशित

मोदिबेनी भन्ने ठाँउमा घटेको सत्य घटनामा आधारित फिल्ममा हो मोदिबेनी । पुर्णिमा (वर्षा सिवाकोटी) एक सामुदायिक विद्यालयकी शिक्षिका हुन्छिन् भने अमर (अमर प्रताप श्रेष्ठ) गरिब परिवारका, जसले मोदिबेनी फिल्मबाट डेब्यु गरेका हुन् । मोदिबेनी गाउँमा जन्मेकी पुर्णिमा पोखराको विद्यालयकी शिक्षिका हुन्छिन् । मोदिबेनी गाउँको पठनपाठनमा समस्या देखेपछि पोखरा छोडेर आफ्नै गाउँमा पढाउन भनेर मोदिबेनी गाउँमै पढाउन आएकी हुन्छिन् पूर्णिमा । त्यही समयमा गाउँकै अमरसँग प्रेम बस्छ, जो भर्खरै विदेशबाट फर्किएका हुन्छन् । 


गरिब परिवारमा जन्मिएका अमर र गाउँको जमिनदारकी एक मात्र छोरी पुर्णिमाको प्रेम सम्बन्धमा पुर्णिमाको परिवारको मन्जुरी हुँदैन । सांसदको छोरासँग विवाह गरिदिने तारतम्य मिलाइसकेको पुर्णिमाको परिवारले अमर र पुर्णिमाको प्रेम सम्बन्ध छुटाउने प्रयत्न गर्दछ । परिवारले प्रेम स्विकार नगरेपछि पुर्णिमा र अमरले भागेर विवाह गर्ने निर्णय गर्दा पुर्णिमाको आमाको निर्देशनमा गाउँका केटाहरुले‌ अमरलाई मारिदिन्छन् । प्रेमीको मृत्युको खबरले स्तब्ध बनेकी पुर्णिमाले पनि आत्महत्या गर्छिन् । अन्त्यमा प्रेत बनेर प्रेमी अमरको हत्याराको बदला लिन्छिन् ।


सबल पक्षहरु

फिल्मको छाँयाकन पक्ष सबल छ । सुरुवातमा रेजिना उप्रेती, जो आफ्नै फुपुबाट बेचिएर साहारा खोज्दै भौतारिएकी बेसाहारा युवति हुन् । उनलाई गाउँका जमिन्दारले बुहारीको रूपमा स्विकार गर्नुले सकारात्मक सन्देश दिन्छ । जमिन्दारले बिस्तारै आफ्नो जमिन्दारी शासनको जिम्मा छोरालाई दिन्छन् र छोराले शासनमा एकरूपता कायम गर्छन् । पुर्णिमाको प्रेममा उनकी साथी (स्नेहा भट्टराई)ले मात्र साथ दिएकी छिन् । फिल्ममा सबैभन्दा उत्कृष्ठ पक्ष भनेको सानो सानो घटनाक्रममा ध्यान दिइएको छ र कुशलतापूर्वक देखाइएको छ । रहस्यमय ढंगले अघि बढेको कथामा अन्त्यमा मात्रै सत्य कुरा बाहिर आउनुले दर्शकलाई अन्त्यसम्मै तानेर ल्याउँछ । 


सुझाव 

कथा र संगीतमा केहि कमजोरीहरू छन् । कलाकारको प्रस्तुति र नाटकमा खोट लगाउने ठाउँ नभएतापनि केही कमजोर पक्ष भेटिन्छन् । अमरको बुबाले गल्ति गरेको कुरा सबैले गरेको चर्चा गरेतापनि बुबाको गल्ति के थियो भनि खुलाइएको छैन । अमरको बालापनको चर्चा गरिएको छैन, जुन कुराले एक्कासी विदेशबाट फर्किएका भन्ने अधुरो जानकारी दिएको छ । प्रेम असफल हुँदा आत्महत्या गर्नुपर्ने रहेछ भन्ने गलत सन्देश प्रवाह हुनेसमेत देखिन्छ ।


अन्तिममा 

मोदिबेनी फिल्म नेपालको मोदिबेनी भन्ने गाँउमा घटेको सत्य घटनामा आधारित फिल्म भएकोले यस्तो फिल्मलाई प्रोत्साहित गर्नुपर्दछ। फिल्ममा कलाकारको अभिनय, छायांकन, क्वालिटिमा खोट लगाउने ठाउँ छैन । फिल्मले युवापुस्तामा अनौठो कथावस्तुको अनुभुति गराउने भएकोले फिल्म हेर्दा पैसा खेर जाँदैन । समग्रमा ५ मा ४.५ अंक दिन सकिन्छ ।