काठमाडौँ । अमेरिकाले आज ५० जनासम्म नेपालीलाई नेपाल फिर्ता पठाइदिने भएको छ।
अवैधानिक रूपमा बसोबास गरेको भनी अमेरिकाले ती नेपालीलाई ‘डिपोर्ट’ (देशनिकाला) गरेको हो। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उनीहरूलाई चार्टर्ड विमानमार्फत ल्याइदिने जनाएको छ ।
अमेरिकाले विमान नै चार्टर्ड गरेर नेपालीलाई फर्काएको यो दोस्रोपटक हो। यसअघि अमेरिकाले ८ नेपालीलाई डिपोर्ट गरेर आफ्नै विमानमा नेपाल ल्याइदिएको थियो।
नेपाल ल्याइसकेपछि अध्यागमान जाँचपछि उनीहरूलाई प्रहरीको जिम्मा लगाउने अध्यागमनको तयारी छ। प्रहरीको मानव बेचविखन ब्युरोले सामान्य सोधपुछ गर्नेछ।
उनीहरू कसरी त्यहाँ पुगे, कसले पठायो भन्ने विषयमा जानकारी लिने र आफूलाई अवैध रूपमा त्यहाँ पुर्याउने व्यक्तिबारे जानकारी दिएर उजुरी गर्न तयार भएमा प्रहरीले अनुसन्धान पनि अगाडि बढाउने छ।
अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीविरुद्ध कडा नीति लिइएको छ।