काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ । २७ औं महाधिवेशनअन्तर्गत तीनै तहको निर्वाचन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार तीनै तहको निर्वाचनको तयारी पुरा भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सबै जिल्लाका सबै सदस्यले प्रदेश र केन्द्रका उम्मेदवारलाईसमेत भोट दिन पाउनेछन् ।
महासंघको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् । यसपटक नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त रुपमा उम्मेदवारी दिएका हुन् ।
यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलावी रङको मतपत्र रहेको छ। प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन् ।
मतदान स्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रसारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्विरसहितको परिचय पत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ।